समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : २
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : २
म सानैदेखि तन मन लगाएर पढ्थें । मैले नबुझेका कुराको अर्थ शिक्षकलाई सोध्थें । म खराब साथीको सङ्गत गर्दिनथें । म आस्तिक, इमानदार र मिहिनेती साथीको सङ्गत गर्थें ।
(क) 'शरीर' को पर्यायवाची शब्द………..हो ।
(ख) 'असल' को विपरीतार्थक शब्द………..हो ।
(ग) अनेकार्थी शब्द ……….. हो ।
(घ) 'ईश्वरमाथि विश्वास गर्ने' पदावलीको सिङ्गो शब्द………..हो ।
दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा पारिभाषिक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : २
खाने मुखलाई जुँगाले छेक्दैन भने भैँ मिहिनेती व्यक्ति देशमा जस्तोसुकै परिवर्तन आए पनि अगाडि बढ्छ । नमच्चिने पिँडको सय भङ्का भने भैँ काममा भन्दा कुरामा अल्मलिने व्यक्ति चाहिँ संस्कृतिको अवमूल्यन गर्नमा नै समय व्यतीत गर्छन् । विद्वत् वर्गचाहिँ देशको संस्कृति, सविधान, कानून र प्रकृति संरक्षणमा सचेत भएर अगाडि बढ्नुपर्छ ।
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : १
(अ) प्रसासन प्रशासन प्रसाशन प्रशाशन
(आ) विविधता विविधता विबिधता विबिधता
(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : २
दुलहीका पीनाले बोलाएको सुनेर फलैँचा बाट मुरलीधरले भने, ज्यू, म यहीँ छु आउन लागें ।
दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् : ३
वृद्ध मानिसले आदर्श वचन व्यक्त गरेपछि हामी ध्यानपूर्वक उनका विचार सुन्न थाल्यौँ । वृद्धले बोलेका हरेक वाणीमा मानव जीवनको अस्तित्व समावेश भएका थिए त्यहाँबाट उठ्न मन लागेन ।
दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : २+२= ४
(क) दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
शैक्षिक क्षेत्रमा अब्बल ठहरिएका व्यक्ति कानूनी, राजनीतिक तथा प्रशासनिक क्षेत्रमा पनि अब्बल नै हुन्छन् । प्रतिस्पर्धाको यो जमानामा नैतिक प्रहार गरेर पराजित गर्न खोज्ने व्यक्ति पनि पछि लागेका हुन्छन् । खराब प्रवृत्ति भएका व्यक्तिसँग सचेत भएर अगाडि बढ्नु नै बुद्धिमानी हुन्छ ।
(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :
शिक्षकका लागि ठुलठुला मात्र नभई ससाना विद्यार्थी पनि प्राण भैँ प्रिय हुन्छन् । विद्यार्थीले पनि आफ्ना गुरुलाई मानसम्मान गर्छन् । विद्यार्थीको आनीबानी राम्रो भए शिक्षकको जीवन रहेसम्म गुरुदक्षिणा त्यही नै हुन्छ ।
दिइएका वाक्यलाई वञ्चात पक्षमा परिवर्तन गर्नुहोस् : २
कृष्ण राय खाना खान्छन् । उनी ओछ्यानमा पल्टिन्छन् । उनी निदाउने प्रयत्न गर्छन् । उनलाई कसैले आक्रमण गर्छ ।
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : २
(क) आज्ञार्थक भावका फरक फरक क्रियापदको प्रयोग गरी आफ्नी बहिनीको स्वास्थ्यका बारेमा चार वाक्यमा वर्णन गर्नुहोस् ।
(ख) दिइएका वाक्यलाई उच्च भावरमा परिवर्तन गर्नुहोस् :
तिमी पोखरा घुम्न जाऊ । तिमी फेवातालमा डुङ्गा चलाऊ ।
तिमी साँझमा बजार डुलेर रमाऊ । तिमी सराइकोटबाट सूर्योदय हेर्न नछुटाऊ ।
कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : ४
(क) श्यामसुन्दर योग गर्छन् । श्यामसुन्दर स्वस्थ छन् । (वाक्य संश्लेषण)
(ख) आफू त कहिल्यै रोइदैन । (कर्तृवाच्य)
(ग) अर्जुन नामी डाक्टर बन्छ । (प्रेरणार्थक)
(घ) महात्माले आफू सत्य बोल्ने कुरा बताए । (प्रत्यक्ष कथन)
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
साँच्चै यो मोबाइलभित्र त सारा संसार पो अटाएको रहेछ । यसमा के छैन ? नाच यहीँ रहेछ, गाना यहीँ रहेछ, धर्म यहीँ रहेछ, अधर्म पनि यहीँ नै रहेछ, स्वर्ग नर्के जे भनौँ सबै यसैमा रहेछ । ज्ञानको भण्डार पनि यहीँ रहेछ । दृष्टिकोण नै विचारको आधार भएकाले यहीँ रहेछ । सुकर्म देखाउने बाटो पनि यहीँ रहेछ । कुकर्मतिर लाग्ने कुबाटो पनि यहीँ रहेछ । जब मान्छेका हातका औँला मोबाइलभित्रका खराब कुरा खोज्न तम्सिँदा रहेछन् नि त्यसपछि त मान्छेले यही धर्तीमा नै नर्क भोग्नुपर्दो रहेछ । मलाई धिक्कार छ मेरा यी औँला त्यो दिन किन त्यो म्यासेज थिच्न पुगे होलान् । लोहोराले थिचौँ जस्तो लाग्छ यी औँलालाई ।
प्रश्नहरू
(क) 'साँच्चै यो मोबाइलभित्र त संसार पो अटाएको रहेछ ।' यस वाक्यलाई अकरणमा बदल्नुहोस् ।
(ख) रेखाङ्कित शब्द 'धर्तीमा' को कारक र विभक्तिको नाम लेख्नुहोस् ।
(ग) 'मान्छेले यहीँ धर्तीमा नै नर्क भोग्नुपर्दो रहेछ ।' यस वाक्यको उद्देश्य र विधेय पहिचान गरी लेख्नुहोस् ।
(घ) 'दृष्टिकोण नै विचारको आधार भएकाले सुख यहीँ रहेछ ।' यस वाक्यलाई संयुक्त वाक्यमा बदल्नुहोस् ।
दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
कपडा, जनावरको छाला, कमेरो, पानी, रङ, सुन आदि धेरै कच्चा पदार्थबाट थाङ्काको निर्माण हुन्छ । यसका लागि चाहिने कपडा सजिलै उपलब्ध हुन्छ । जनावरको छाला, कमेरो, पानी, ढुङ्गा जस्ता स्वदेशी कच्चा पदार्थ सजिलै र सस्तामा उपलब्ध हुन्छन् । थाङ्काका लागि चाहिने अलिक महँगो वस्तु भनेको सुन हो, त्यो पनि अप्राप्य छैन । थाङ्का बनाउने विज्ञ र कामदार स्वदेशमै उपलब्ध छन् । यसको निर्माणमा वातावरणीय क्षति हुँदैन र पेट्रोलियम पदार्थको आवश्यकता पर्दैन । पातलो र नरम कपडामा बनाइने भएर यो हलुका हुन्छ । यसलाई पट्याएर, दोबारेर पनि सजिलै ओसारपसार गर्न सकिन्छ र ढुवानी खर्च धेरै लाग्दैन । एउटा सानो कोठामा पनि उत्पादन गर्न सकिन्छ । यसैले यसको उत्पादन लागत सस्तो पर्छ । उत्पादन लागतका तुलनामा यसको मूल्य भने धेरै छ । यो कला कृतिका साथै आस्थाको प्रतीक भएकाले राम्रो मूल्यमा यसको बिक्री हुन्छ । एउटा थाङ्का पाँच सात सयदेखि लाखौँ मूल्यमा पनि बिक्री हुन्छ । त्यसैले थाङ्काका उत्पादक र व्यापारीलाई राम्रै फाइदा हुन्छ । थाङ्का बनाउने विज्ञ र कामदारले कला सिर्जनाबाट सन्तुष्टि प्राप्त गर्छन् ।
प्रश्नहरू
(क) थाङ्का चित्र निर्माण गर्न कुन कुन कच्चा पदार्थ आवश्यक पर्छ ?
(ख) थाङ्काको उत्पादन लागत सस्तो पर्नाको कारण के हो ?
(ग) थाङ्का कला सिर्जनाबाट कसरी सन्तुष्टि प्राप्त हुन्छ ?
(घ) थाङ्का चित्र निर्माणबाट के लाभ लिन सकिन्छ ?
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : ४
(क) दिइएका बुँदाका आधारमा कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
कुनै समयमा घाम र हावाको भेट हुनु……..को ठुलो भन्ने विषयमा लामो विवाद हुनु………रुखको छहारीमा सुतेको मानिसको ओढ्ने जसले हटाउन सक्छ उही ठुलो भन्ने निष्कर्षमा दुवै पुग्नु………दुवैलाई आआफ्नो क्षमताको घमन्ड हुनु…..ओढ्ने बेस्सरी समाउनु …..प्रतिस्पर्धामा हावा असफल हुनु………घामको पालो आउनु………घामको किरण क्रमश: प्रचण्ड हुँदै जानु……मानिसलाई गर्मीले उखुमै पार्नु………ओढ्ने शरीरबाट हटाउनु……..एउटै क्षमता सबै क्षेत्रमा उपयोगी नहुने सन्देश ।
(ख) एस.ई.ई. परीक्षा सुरु हुने अगिल्लो रात मनमा उठेका विचार समेटी एउटा मनोवाद लेख्नुहोस् ।
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : ४
(क) कक्षा १० को अनिवार्य विषयका पाठ्यपुस्तक उपलब्ध गराइदिन अनुरोध गर्दै मनकामना पुस्तक पसल, गोरखाको तर्फबाट जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी भक्तपुरलाई लेख्ने पत्रको नमुना तयार पार्नुहोस् ।
(ख) आफ्नो पालिकाले आयोजना गरेको अन्तर विद्यालयस्तरीय हाजिरजवाफ प्रतियोगिता कार्यक्रमको गतिविधि समेटी समाचारको नमुना तयार पार्नुहोस् ।
दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् : २
मेरो देशमा विज्ञान र प्राविधियुक्त शिक्षाको थप खाँचो छ । विज्ञान र प्राविधियुक्त शिक्षा नपुगेका गाउँठाउँमा त्यसको पहुँच सर्वसुलभ हुन जरुरी छ । आजको युग सूचना र प्राविधिको युग हो । शिक्षामा सूचना र प्राविधिले युगान्तकारी परिवर्तन ल्याइदिएको छ । ती परिवर्तनलाई आत्मसात् गर्न सक्ने नागरिक उत्पादनमा जोड दिने शिक्षाको खाँचो छ । आज हामी मोबाइल एप्सबाट गाडी रोक्न, चढ्न र भाडा तिर्न सक्छौँ । अनलाइन कारोबार गर्न सक्छौँ, अनलाइनबाटै बैङ्क खाता खोल्न र घरमै सामान मगाउन सक्छौँ । आज जागिरका विज्ञापन अनलाइनबाटै खुल्छन् । व्यापार व्यवसाय अनलाइनबाटै गरिन्छन् । घरमा उत्पादन गरेका कृषिजन्य वस्तु अनलाइनबाटै बजारीकरण गरी आय वृद्धिमा सघाउ पु¥याउन सकिन्छ ।
दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : ३
कर्तव्यभन्दा अधिकार नै महान् छ । व्यक्तिको व्यक्तित्व विकास र जीवनयापनका लागि अधिकार नितान्त अनिवार्य कुरा हो । हेक्का राखौँ, अधिकारले मात्र मानिसको स्वतन्त्रताको रक्षा गर्छ, कर्तव्यले होइन । अधिकारको बगैँचामा मात्र व्यक्तिको फुल फुल्छ । व्यक्तिले परिवार, समाज र राज्यबाट प्राप्त गर्ने अधिकार पाउनुपर्छ र मात्र त्यो व्यक्तिको समग्र व्यक्तित्व उज्यालो बन्छ । सानो छँदा राम्रो लालनपालन र पोषणयुक्त खाना पाउने अधिकार पाउनुपर्छ । अलिक हुर्कँदै जाँदा शिक्षा र स्वास्थ्यको अधिकार पाउनुपर्छ । पढिसकेपछि उसले व्यवसाय र रोजगारको स्वच्छ प्रतिस्पर्धामा सहभागी हुने अधिकार पाउनुपर्छ । यसो भयो भने मात्र व्यक्तिको व्यक्तित्वको विकास हुन सक्छ । हरेक व्यक्तिको विकास हुनु नै त्यो परिवार, समाज र राष्ट्रको समेत विकास हुनु हो ।
दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : ४+४=८
(क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
यस्तो आदर्श यात्रामा कहिले चलूँला नि म ?
चन्द्रसूर्य बनी आफैँ कहिले बलूँला नि म ?
आफ्नै पौरखले बाटो कहिले खन्नूला नि म ?
सर्वोच्च कविता आफैँ कहिले बनूँला नि म ?
प्रश्नहरू
(अ) 'आफ्नै पौरखले बाटो खन्नु' को तात्पर्य के हो ?
(आ) माथिको कवितांशमा 'आदर्श यात्रा' र 'चन्द्रसूर्य' ले के के कुरालाई सङ्केत गरेका छन् ?
(ख) दिइएको जीवनीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
सफल र लोकप्रिय बन्न विदेशै जानुपर्छ भन्ने सोचलाई सन्दुक रुइतले गलत साबित गरिदिएका छन् । नेपालमै बसेर संसारभरिका मानिसको सेवा गर्न र जीवनलाई सार्थक बनाउन सकिन्छ भन्ने कुराका लागि रुइतको जीवनी अनुपम दृष्टान्त हो । धैर्य, साहस, दृढ इच्छाशक्ति र सङ्घर्षबाट मानिस आफ्नो लक्ष्यमा पुग्न सक्छ भन्ने कुराको प्रेरणा उनको जीवनीबाट पाउन सकिन्छ ।
प्रश्नहरू
(अ) सन्दुक रुइतले कस्ता कुरामा साहस देखाए ?
(आ) रुइतको जीवनीबाट के के प्रेरणा पाउन सकिन्छ ?
'पक्षीउस्' निबन्धमा भने जस्तै सबैलाई पर्वानुपर्ने अवस्थाको अन्त्य गर्न के गर्नुपर्ला ? तर्क दिएर लेख्नुहोस् । ४
कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् : ४
(क) पहाड भन्छ पसिना पाए म स्वर्ग भुलाउँदैँ
तराई भन्छ सिँचाइ पाए म सुन भुलाउँदैँ ।
(ख) बाहिरी शत्रुलाई उठन दिनको मूल कारण घरभित्रको झगडा हो ।
कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् : ७
(क) दिइएको निबन्धांशको आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
आधुनिक चिकित्सा विज्ञानको पर्यायका रूपमा मान्ने गरिएको एलोप्याथिक औषधीको जस्तो पार्श्वप्रभाव नहुने र शरीरबाट रोगलाई पूर्णतः निर्मूलीकरण गरिने आयुर्वेदिक चिकित्सा पद्धितप्रति मानिसको आकर्षण बढेको छ । 'निरोगी जीवन सुखी जीवन' को सपना साकार पार्न आयुर्वेदिक चिकित्साको प्रयोग आजको आवश्यकता र समयको माग बनेको छ ।
प्रश्न
(अ) रोग नियन्त्रण गर्न र पार्श्वप्रभावबाट बचाउन आयुर्वेद चिकित्सा पद्धति किन प्रभावकारी मानिन्छ ? विवेचना गर्नुहोस् ।
(ख) दिइएको कथांशको आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
खुसी घाँटीमा अड्किए जस्तो भयो । बोल्नै गाह्रो भयो । मैले आमालाई गम्लङ्ङ अँगालो हालेँ । आमाको छातीबाट न्यानो प्रसार भएर मेरो भित्र हृदयमा पुग्यो । म निकैबेरसम्म अँगालोमै बेरिइरहेँ । मेरो हिक्क भन् भन् बढेर आयो । आमासँगको मातृवात्सल्यको अभिनव आयाममा म प्रेमको महासागरमा डुबिरहेकी थिएँ ।
प्रश्न
(अ) 'आयाम' कथाले नेपाली समाजको कस्तो विषयवस्तु उठान गरेको छ ? समीक्षा गर्नुहोस् ।
कुनै एक शीर्षकमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : ७
(क) प्राविधिक शिक्षा र रोजगारी
(ख) युवा वर्गमा सामाजिक सञ्जालको प्रभाव
(ग) राष्ट्र निर्माणमा मेरो भूमिका