समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोड्ा मिलाउनुहोस् : २
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : २
एक दशकपछि विनय विदेशबाट स्वदेश फर्कियो । उसले आफ्नै गाउँमा बसेर आर्थिक प्रगति हुने काम गर्ने सोच राख्यो । उसले सरकारलाई कर तिरी असल उद्यमी बन्ने निर्णय गऱ्यो ।
(क) 'उन्नति' को पर्यायवाची शब्द...........हो ।
(ख) 'विदेश' को विपरीतार्थक शब्द...........हो ।
(ग) अनेकार्थी शब्द ............. हो ।
(घ) 'दश वर्षको अवधि' जनाउने पदावलीको सिङ्गो शब्द...........हो ।
दिइएको अनुच्छेदबाट एउटा टुक्का र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : २
समयमै आफ्नो काम फटाफट फत्ते गर्ने व्यक्तिको उन्नति चाँडै हुन्छ । कानमा तेल हालेर बस्ने प्रवृत्तिले व्यक्ति, समाज र राष्ट्रको अपेक्षित उन्नति हुँदैन । त्यसैले खुरुखुरु आफ्नो काममा ध्यान दिनु बुद्धिमानी हुन्छ ।
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : १
(अ) चिरन्जीवी चिरञ्जीवी चिरङ्जीवी चिरंजीवी
(आ) शशक्त शासवत पशक्त सशक्त
(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : २
प्राचिन ऋषिमूनिले अनेकौँ सभ्यता संस्कृति, पूर्वीय दर्शन र ज्ञानको ज्योति संसार भर फिंजाए ।
दिइएको अनुच्छेदमा रेखाङ्कित गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् : ३
विद्वान्ले देशको विकास हुँदा देशवासीको भलो हुने विचार व्यक्त गरे । हामी सबै आफ्नो राष्ट्रप्रति इमानदार र कर्तव्यनिष्ठ हुनुपर्छ भन्ने धारणा पनि उनले प्रस्तु गरे ।
दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : २+२= ४
(क) दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
नेपालमा हिमाली सौन्दर्यको स्वर्गीय आनन्द अनुभव गर्न पाइन्छ । यहाँ नेपालीको हार्दिकतामा चुलुम्म डुब्न पाइन्छ । तसर्थ विदेशी पर्यटक नेपाललाई आफ्नो यात्राको उत्कृष्ट गन्तव्य बनाउन चाहन्छन् ।
(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :
हिजो बिहानै डाँडाघरे सान्दाइ देवघाट धामतिर हिँडे । वाटाका लागि खर्च कटाएर भए पनि परिवारलाई तीन नदीको समूह भएको स्थानबाट मर्मसला हालेको मिठाइसिठाइ ल्याइदिउँला भन्दै उनी भोलासोला बोकेर बाटो लागे ।
दिइएका वाक्यलाई अज्ञात पक्षमा परिवर्तन गर्नुहोस् : २
ऊ बन्दीपुर गयो । उसले केबुलकार चढ्यो । ऊ त्यहाँको सुन्दरता देखेर रमायो । ऊ खुसी भएर घर फर्कियो ।
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : २
(क) सम्भावनार्थक भावका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो भावी योजनाको वर्णन गर्नुहोस् ।
(ख) दिइएका प्रथम पुरुषका वाक्यलाई तृतीय पुरुषमा परिवर्तन गर्नुहोस् :
हामी नेपाली हौँ । हामी स्वाभिमानी छौँ । हामी मुलुकमा शान्ति र विकास चाहन्छौँ । हामी स्वदेशको उन्नतिमा लाग्छौँ ।
कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : ४
(क) पोखरा नेपालको एक सुन्दर स्थल हो । पर्यटक पोखरा घुम्न रुचाउँछन् । (वाक्य संश्लेषण)
(ख) विद्यार्थी शान्त वातावरणमा परीक्षा दिँदै छन् । (कर्तृवाच्य)
(ग) पर्यटक सगरमाथाको आरोहण गर्छ । (प्रेरणार्थक)
(घ) बुवाले छोरालाई भन्नुभयो, "तिमी स्वदेशमै बसेर पढ ।" (अप्रत्यक्ष कथन)
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
कर्तव्यभन्दा अधिकार नै महान् छ । व्यक्तिको व्यक्तित्व विकास र जीवनयापनका लागि अधिकार नितान्त अनिवार्य कुरा हो । हेक्का राखौँ, अधिकारले मात्र मानिसको स्वतन्त्रताको रक्षा गर्छ, कर्तव्यले होइन । अधिकारको बगैँचामा व्यक्तित्वको फूल फुल्छ व्यक्तिले परिवार, समाज र राज्यबाट प्राप्त गर्ने अधिकार पाउनुपर्छ र मात्र त्यो व्यक्तिको समग्र व्यक्तित्व उज्यालो बन्छ । सानो छँदा राम्रो लालनपालन र पोषणयुक्त खाना पाउने अधिकार पाउनुपर्छ । अलिक हुर्कँदै जाँदा शिक्षा र स्वास्थ्यको अधिकार पाउनुपर्छ । पछिसकेपछि उसले व्यवसाय र रोजगारको स्वच्छ प्रतिस्पर्धामा सहभागी हुने अधिकार पाउनुपर्छ । यसो भयो भने मात्र व्यक्तिको व्यक्तित्वको विकास हुन सक्छ । हरेक व्यक्तिको विकास हुनु नै त्यो परिवार, समाज र राष्ट्रको समेत विकास हुनु हो ।
प्रश्नहरू
(क) 'यसो भयो भने मात्र व्यक्तिको व्यक्तित्वको विकास हुन सक्छ ।' वाक्यलाई अकरणमा परिवर्तन गर्नुहोस् ।
(ख) रेखाङ्कित 'बगैँचामा' शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् ।
(ग) 'उसले व्यवसाय र रोजगारको स्वच्छ प्रतिस्पर्धामा सहभागी हुने अधिकार पाउनुपर्छ ।' यस वाक्यको उद्देश्य र विधेय लेख्नुहोस् ।
(घ) 'अधिकारको बगैँचामा व्यक्तित्वको फूल फुल्छ ।' वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस् ।
दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
बाढी, पहिरो, खण्डवृष्टि, अल्पवृष्टि, अतिवृष्टि आदि प्राकृतिक प्रकोपका रूप हुन् । बढ्दो जनसङ्ख्या, अव्यवस्थित बसोबास, जलवायु परिवर्तन र वैज्ञानिक उन्नतिका कारण विभिन्न किसिमका वातावरणीय समस्या उत्पन्न भएका छन् । यसबाट जलचर, थलचर सबै प्राणी जगत् प्रभावित भएका छन् । यस्ता समस्याबाट पैदा हुने वातावरणीय असन्तुलनको खतराबाट जोगाउने कार्यमा वनजङ्गलको ठूलो भूमिका हुन्छ । यसले प्राणीलाई सास फेर्न आवश्यक पर्ने अक्सिजन दिई प्राकृतिक सुन्दरता बढाउने कामसमेत गर्छ । वनजङ्गलकै कारणले जलाधार क्षेत्र सुरक्षित रहन्छन् भने भूक्षय नियन्त्रण गर्ने कार्य पनि यसैबाट सम्भव छ । जङ्गल आफैँमा प्राकृतिक सम्पदा हो । यसको संरक्षण र सदुपयोग गरी बाढी, पहिरो, भूक्षय जस्ता समस्याको न्यूनीकरण गर्नु आवश्यक छ । 'जहाँ जङ्गल त्यहीं मङ्गल', 'हरियो वन नेपालको धन' जस्ता उक्तिलाई सार्थक पार्न पनि वनजङ्गलको संरक्षणमा जोड दिनु जरुरी छ । यसका लागि जनचेतना बढाउनका साथै वृक्षरोपण कार्यमा ध्यान दिनुपर्छ । जथाभावी चरन र चोरी पैठारीमा नियन्त्रण गर्नुपर्छ । सामुदायिक वनको अवधारणालाई प्राथमिकता दिई वन संरक्षण गर्नेलाई पुरस्कार र यसको विनाश गर्नेलाई दण्डको व्यवस्थासमेत गरिनु अपरिहार्य छ ।
प्रश्नहरू
(क) प्राकृतिक प्रकोप भनेको के हो ?
(ख) वातावरणीय समस्याका कारण के के हुन् ?
(ग) वनजङ्गलको संरक्षण किन गर्नुपर्छ ?
(घ) वातावरणीय समस्यालाई समाधान गर्न वनजङ्गलले कसरी सहयोग गर्छ ?
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : ४
(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
नाम : भूपि शेरचन
जन्मस्थान : गण्डकी प्रदेश, मुस्ताङ जिल्ला, थाकटुकुचे गाउँ
जन्ममिति : वि.सं. १९९२ पुस १२ गते
पिता/माता : सुब्बा हितमान शेरचन/पदमकुमारी शेरचन
शिक्षा : स्नातकसम्मको औपचारिक अध्ययन
प्रवृत्ति : स्वच्छन्दतावादी प्रगतिवादी धाराका उत्कृष्ट कवि, युगीन विसङ्गति र विकृतिप्रति तीव्र विरोध, मानवीय दुःख र वेदनालाई कवितामा उतार्नु, व्यङ्ग्यवादी चेत, प्रकृति प्रेम, देशप्रेम, प्रखर क्रान्तिचेतना, भयाउरे तथा गद्य लयमा लोकप्रिय कविता सिर्जना, उत्कृष्ट गीतकार, सुधारवादी चेतना, प्रतीक र विम्बको सुन्दर प्रयोग, सरल र सरस भाषाशैली ।
कृति : 'परिवर्तन', 'निर्भर', 'नयाँ भ्याउरे', 'घुम्ने मेचमाथि अन्धो मान्छे' आदि ।
पुरस्कार : साझा पुरस्कार
मृत्यु : वि.सं. २०४६ जेठ १ गते, काठमाडौँ
(ख) 'जलवायु परिवर्तन' शीर्षकमा एउटा संवाद तयार पार्नुहोस् ।
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : ४
(क) आफ्नो टोलको कच्ची बाटाका कारण उत्पन्न भएका समस्याबारे अवगत गराउँदै उक्त बाटालाई यथाशीघ्र अलकत्रे बाटो बनाउन सम्बन्धित निकायको ध्यानाकर्षणका लागि कुनै एक राष्ट्रिय दैनिकका सम्पादकलाई लेख्ने चिठीको नमुना तयार पार्नुहोस् ।
(ख) स्थानीय वनस्पतिको प्रयोग गरी तयार पारिएको कुनै एक सुगन्धित अगरबत्ती उत्पादक कम्पनीका तर्फबाट दिइने विज्ञापनको नमुना तयार पार्नुहोस् ।
दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् : २
आयुर्वेदिक उपचारका अनेकौँ विशिष्ट पक्ष छन् । यसमा बिरामीको आत्मा, मन, शारीरिक प्रकृति र दोष, मल र धातुको अवस्थालाई पनि ध्यानमा राखेर मानिसका समग्र पक्षको उपचार गरिन्छ । रोगको उपचार गर्दा मन र शरीरलाई पूर्ण रूपमा छुट्याउन सकिँदैन भन्ने मान्यताअनुसार रोगीको मन र शारीरिक प्राकृतिकअनुरूप उपचार गरिनु पनि यसको विशेषता हो । आयुर्वेदिक औषधीले आफैँमा तागत वा रसायनको पोषण प्रदान गर्ने, बिरामी र स्वस्थ व्यक्तिले पनि प्रयोग गर्न सक्ने, स्वस्थ व्यक्तिको पोषण र रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने यसको अर्को महत्त्वपूर्ण पक्ष हो । आहार, विहार र आचारसंहितामार्फत रोगले आक्रमण नगरोस् भनी रोग प्रतिरोधी औषधी र आहारमा जोड दिनु पनि यसको विशेषता हो ।
दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : ३
सन्दुक रुइतले आफ्नो उपचार पद्धतिबाट लाखौँ मानिसको सफल शल्यक्रिया गरिसकेका छन् । यसबाट दृष्टि प्राप्त गर्ने विश्वभरका मानिसले उनलाई 'दृष्टिका देवता' मानेका छन् । नेपालको नवीन प्रविधि 'रुइतेक्टोमी' का रूपमा यो उपचार पद्धति एसिया, दक्षिण अमेरिका, अफ्रिकालगायत विभिन्न देशमा प्रयोगमा छ । यो प्रविधि संसारभर गुणस्तरीय र प्रशंसनीय बन्दै गइरहेको छ । उनले मोतीविन्दुको शल्यक्रियाँ भिडियोमार्फत र सम्भव भएसम्म आफैँ उपस्थित भएर संसारभरका डाक्टरलाई सिकाउँदै आएका छन् । उत्तर कोरियामा उनले गरेको काम नेसनल जियोग्राफिकले एउटा वृत्तचित्रका रूपमा प्रसारण गरेका थियो । उनले पुऱ्याएको योगदानस्वरूप तिलगङ्गा उपचार केन्द्र अहिले तिलगङ्गा आँखा प्रतिष्ठानका रूपमा स्थापित छ । यसमार्फत उनले पुऱ्याएको मानवीय सेवाका उच्च मूल्याङ्कन गर्दै विश्वका प्रसिद्ध समाचार माध्यमले यसको प्रचारप्रसार गरेका छन् ।
दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : ४+४=८
(क) दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँच्ने छ
नेपाली भाषा संस्कृति कला साहित्य बाँच्ने छ ।
यसैले आऊ नेपाललाई बलियो बनाऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ ॥
प्रश्नहरू
(अ) नेपाल बाँचेमा हाम्रा के के कुरा बाँच्ने छन् ?
(आ) हामीले आफ्नो श्रम र सिप किन स्वदेशमै लगाउनु आवश्यक छ ?
(ख) दिइएको एकाङ्कीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाओँला । एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाउँला । यसरी सबैको हेलाहाँसो भएर म त बस्दिनँ यहाँ । साराले आफ्नै देशमा काम पाएका छन्, हामीले विदेशमा यसरी लत्रेर बस्नुपर्छ र ? कहाँ आफ्नो चाडबाड, पर्वमेला, तीर्थव्रत सब छाडेर अर्काको कमारो भएर बस्ने ? जाऔँ हिँड जमान दाइ, मर्नुपरे पनि बरु आफ्नै देशमा मरौँला, आफ्नै भुइँमा लम्पसार परौँला, आफ्नै खोलाका वगरमा आफ्नै वनका काठले जलौँला ।
प्रश्नहरू
(अ) एकाङ्कीका पात्रले किन आफ्नै देश फर्कने कुरा गरेका हुन् ?
(आ) माथिको एकाङ्कीको अंशको आशय के हो ?
शत्रु नभएको मानिस हुन्छ कि हुँदैन ? 'शत्रु' कथाका आधारमा आफ्ना तर्क दिएर लेख्नुहोस् । ४
कुनै एक उदाहरणको व्याख्या गर्नुहोस् : ४
(क) ईष्यद्वेष हटाएर जो छर्छन् प्रेम सौरभ
तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव ।
(ख) शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग अनि श्रमलाई आधुनिक प्रविधिसँग जोड्ने शिक्षा आजको आवश्यकता हो ।
कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् : ७
(क) दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :
छाँगो छङ्छङाए भैँ बिजुली वेगमा कविता लेख्ने देवकोटा नेपाली भाषा साहित्यका स्वच्छन्दतावादी साहित्यकार हुन् । उनले विभिन्न साहित्यिक विधामा कलम चलाएका छन् । उनका 'शाकुन्तल', 'सुलोचना', 'महाराणा प्रताप', 'प्रमिथस' आदि प्रसिद्ध महाकाव्य हुन् । उनले 'मुनामदन', 'कुञ्जिनी' र 'लुनी' जस्ता दर्जनौँ खण्डकाव्य लेखे । उनले 'यात्री', 'पागल', र 'प्रभुजी मलाई भेडो बनाऊ' जस्ता सयौँ कविता लेखे । उनले लेखेका साहै गहकिला निबन्ध 'लक्ष्मी निबन्ध सङ्ग्रह' र 'दाडिमको रुखनेर' मा सङ्कलित छन् । उनको एउटा 'सावित्री सत्यवान्' भन्ने नाटक र 'चम्पा' उपन्याससमेत प्रकाशित छ । वास्तवमा उनले लगातार चार दशकसम्म विभिन्न विधाका दर्जनौँ साहित्यिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध तुल्याए ।
प्रश्न
(अ) माथिको अंश र पाठका आधारमा लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यमा पुऱ्याएको योगदानको समीक्षा गर्नुहोस् ।
(ख) दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
मुरलीधर पण्डित थिए । सबैरै नुहाउँथे, आधा दिनसम्म पूजापाठ गर्थे । उनी पनि आफ्नो धर्म र संस्कृतिका उपर असीम श्रद्धा राख्थे । आफ्ना पिताका भैँ उनी पनि अरूलाई सताउनु महापाप सम्भन्थे । मानिस उनलाई जिल्लाका टाढा टाढा ठाउँसम्म बोलाएर सप्ताह पुराण सुन्थे । उनी एउटा सच्चा ब्राह्मण थिए । धोतीमाथि लामो लवेदा, लवेदामाथि सेतो पटुका, शिरमा मखमलको रातो टोपी, काँधमा च्यादर, लतारमा चन्दन, उनी सधैँ यही पहिरनमा हुन्थे । जिल्लामा 'मुरली पण्डित' का नाउँले विख्यात थिए ।
प्रश्न
(अ) माथिको कथांश र पाठका आधारमा मुरलीधरको चारित्रिक विशेषताको चर्चा गर्नुहोस् ।
कुनै एक शीर्षकमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : ७
(क) सभ्य समाज निर्माणमा मेरो भूमिका
(ख) सामाजिक सञ्जालको सदुपयोग
(ग) देशको आर्थिक विकासमा पर्यटन व्यवसाय