समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : २
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : २
बगेर आएको पानी जमेर बनेको यो ताल सुन्दर छ । यहाँको पानी पिउन योग्य छ । यहाँको पानी प्रशोधन गर्न जरुरी छैन । हाम्रो मुलुक भूपरिवेष्टित भए पनि पानीका यस्ता स्रोत पर्याप्त छन् ।
(क) 'जल' को पर्यायवाची शब्द………..हो ।
(ख) 'अयोग्य' को विपरीतार्थक शब्द………..हो ।
(ग) अनेकार्थी शब्द ……….. हो ।
(घ) 'चारैतिरबाट जमिनले घेरिएको' पदावलीले जनाउने सिङ्गो शब्द………..हो ।
दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : २
एकले थुकी सुकी सयले थुकी नदी भने भैँ सबै मिलेर काम गरे मात्र देशको विकास गर्न सकिन्छ । अचेल कतिपय मानिस यति स्वार्थी भएका छन् कि आफ्नो देशलाई चटक्क बिर्सन्छन् अनि आफ्नो हात जगन्नाथ भन्दै स्वार्थ सिद्ध गर्न लुसुक्क विदेशतिर लम्कन्छन् ।
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : १
(अ) सोसण शोषण शोशण सोषण
(आ) पञ्चकन्या पंचकन्या पन्चकन्या पङ्कचन्या
(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : २
पढाई पुरा गर्छु भनी सुन्दर हरि र श्याम गाउँ बाट सहर पसे ।
दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् : ३
ती किसान अति मिहिनेती छन् । तिनलाई यता बोलाएर सम्मान गर्नुपर्छ है ।
दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : २+२= ४
(क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
देश विकासको मेरुदण्ड नै आर्थिक सम्पन्नताको अवस्था सबल हुनु हो । हरेक नागरिक सदाचारी र इमानदारी भयो भने देशले छिटै प्रगति गर्न सक्छ । त्यसैले आर्थिक उपार्जनका लागि हामी सबै सचेत भई अगि बढ्नुपर्छ ।
(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :
हिजो आज गरगहना वनाउने बहुमूल्य सुनको मूल्य आकासिएको छ । सुनचाँदीमा सजिएर हिड्न खोज्नेहरू निराश भएका छन् । फुपडीदेखि महलमा बस्नेहरूलाई समेत यसले प्रभाव पारेको छ । घरका लागि खर्च जुटाउन पनि धौ धौ परेकाले मानिस ससाना गहना लगाएर आआफ्नो चित्त वुझाउन बाध्य छन् ।
दिइएका वाक्यलाई भविष्यत् कालको अपूर्ण पक्षमा परिवर्तन गर्नुहोस् : २
हामी विद्यालय जान्छौँ । हामी व्याकरण पढ्छौँ । हामी नबुझेका कुरा शिक्षकलाई सोध्छौँ । हामी आवश्यक कुरा कापीमा टिप्छौँ ।
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : २
(क) सम्भावनार्थक भावका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा आफ्नी बहिनीका बारेमा वर्णन गर्नुहोस् ।
(ख) दिइएका तृतीय पुरुषका वाक्यलाई द्वितीय पुरुषमा परिवर्तन गर्नुहोस् :
ऊ बगैँचामा जान्छ । ऊ सुन्तला टिप्छ । ऊ सुन्तला भोलामा राख्छ । ऊ बजारमा लगेर सुन्तला बेच्छ ।
कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : ४
(क) समीरले परिश्रम गरेकाले धेरै अन्न फलायो । (वाक्य विश्लेषण)
(ख) आफू त सुतियो । (कर्तृवाच्य)
(ग) सोमपाल गीत गाउँछ । (प्रेरणार्थक)
(घ) दीपिकाले विदेशमा पढ्न नजाने कुरा गरिन् । (प्रत्यक्ष कथन)
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
प्राचीन ऋषिमुनिले अनेकौँ सभ्यता, संस्कृति, पूर्वीय दर्शन र ज्ञानको ज्योति संसारभर फिँजाए र मेरो देशको शिक्षालाई आलोकित गरे । वेदव्यासमा ज्ञानको स्फुरण यहीँ भयो र उनले अठार पुराणको रचना गरे । राजा जनकको दरवारमा याज्ञवल्क्य, गार्गी, मैत्रेयी जस्ता विद्वान् विदुषीले शास्त्रार्थ गरेर जीवन र जगत्का यथार्थ र रहस्यका पाटा उजागर गरे, ज्ञानको तिखाले आकुलव्याकुल भएर घरपरिवार त्यागेका सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरे । फाल्गुनन्दले किरात समुदायमा आफ्नो संस्कृतिको उत्थान र संवर्धन गर्न प्रेरणा दिने अनि समाजमा चेतना र जागरण फैलाउने मुन्धुम जस्तो ग्रन्थ रचना गरे । यसरी मेरो देशको शिक्षाको प्रवर्धनमा पराधूर्वकालदेखि विभिन्न ऋषि महर्षि र विद्वान्ले विशिष्ट योगदान दिएका छन् ।
प्रश्नहरू
(क) 'मेरो देशको शिक्षालाई आलोकित गरे' यस वाक्यलाई अकरणमा बदल्नुहोस् ।
(ख) अनुच्छेदमा रेखाङ्कित 'दरबारमा' शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् ।
(ग) 'विद्वान्ले विशिष्ट योगदान दिएका छन् ।' यस वाक्यबाट उद्देश्य र विधेय पहिचान गरी लेख्नुहोस् ।
(घ) 'घरपरिवार त्यागेका सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरे ।' यस वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गरी लेख्नुहोस् ।
दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
निबन्ध भावना वा विचारको लेखन हो । यसमा लेखकको निजी अनुभूति व्यक्त हुन्छ । निबन्धमा कुनै विषयमाथि विचारको क्रमबद्ध प्रस्तुति हुन्छ । निबन्ध गद्य भाषामा लेखिने सङ्कथन हो । यसमा कुनै पनि विषयमाथि सूचना, विचार वा अनुभूतिको सङ्गठित र क्रमिक अभिव्यक्ति हुन्छ । निबन्धको मुख्य अर्थ कुनै विषयमा वाँधिएको भनिए पनि यो वन्धनरहित लेखन हो । आख्यान, नाटक र कवितासका तुलनामा निबन्ध स्वतन्त्र विधा हो । कुनै पनि विषयमा आत्मनिष्ठ वा वस्तुनिष्ठ भएर मनमा लागेका विचार र अनुभूतिको सिलसिलेवार गद्य लेखन गर्दा निबन्धको रचना हुन्छ । निबन्धमा मूलतः स्रष्टा वा लेखककोे निजीपन समेटिएको हुन्छ । आत्मपरक निबन्धमा निबन्धकारका भोगाइका पाटा प्रस्तुत हुन्छन् भने वस्तुपरक निबन्धमा विषयको वस्तुपरक दृष्टिकोण र सूचनामूलकता बढी हुन्छ । निबन्धमा स्रष्टाले आफू वरिपरिको जीवन र समाजसँग विचारको प्रवाह प्रस्तुत गरेको हुन्छ । तसर्थ निबन्ध स्रष्टाको निजीपन बोकेको वैचारिक लेखन हो ।
प्रश्नहरू
(क) निबन्धमा केको अभिव्यक्ति हुन्छ ?
(ख) निबन्धको रचना कसरी हुन्छ ?
(ग) वस्तुपरक निबन्धमा कस्ता विषयवस्तु रहेका हुन्छन् ?
(घ) निबन्धलाई स्वतन्त्र रचना भनिनुको कारण के हो ?
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : ४
(क) दिइएका बुँदाका आधारमा कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
कुनै एक ऋषि तपोवनमा जानु ....... ऋषि तपस्यामा लीन हुनु ....... केही डाँकाले एक जना व्यापारीलाई लखेट्दै ल्याउनु ....... व्यापारी भाग्दै ऋषिको आश्रममा आइपुग्नु ....... व्यापारी कुटीभित्र लुक्नु ....... ऋषिको कहिल्यै झूट नबोल्ने प्रतिज्ञा हुनु ....... डाँकाले ऋषिसँग व्यापारीवारे सोध्नु ....... ऋषिले साँचो कुरा बताउनु ....... व्यापारीलाई डाँकाले भेट्टाउनु ....... व्यापारी मारेको पाप ऋषिलाई पनि लाग्नु ....... ऋषि पश्चात्तापमा पर्नु……….।
(ख) कुनै एउटा प्रतियोगितामा आफू प्रथम भएर पुरस्कृत हुँदाको क्षणलाई समेटी एउटा मनोवाद तयार पार्नुहोस् ।
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : ४
(क) विद्यालयद्वारा आयोजित खेलकुद कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग गरिदिन अनुरोध गर्दै वडाध्यक्षलाई लेख्ने निवेदनको नमुना तयार पार्नुहोस् ।
(ख) आफ्नो विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई समेटी एउटा समाचारको नमुना तयार पार्नुहोस् ।
दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् : २
देवकोटाले जे लेखे र जुन जुन जिम्मेवारी पाए, प्रायः तीन सबैमा उनले राष्ट्रको हितमा काम गरेर आफ्नो अब्बलता प्रदर्शन गरे । देवकोटा आफूले हात हालेका हरेक क्षेत्रमा एक असल व्यक्तित्वका रूपमा चिनिए, उनका चेला आज पनि उनी जस्तो शिक्षक र प्राध्यापकसँग तुलनीय व्यक्ति भेट्न नसकेको कुरा गर्छन् । शिक्षामन्त्री हुँदा नेपाली भाषालाई पठनपाठनमा अनिवार्य विषयका रूपमा लागु गर्ने गराउने कार्यमा उनैको विशेष पहलकदमी रह्यो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय संलग्न भएर संस्थागत रूपमा साहित्य र संस्कृतिको विकासको ढोका खोल्ने कार्यमा योगदान चिरस्मरणीय रहेकै छ ।
दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : ३
अधिकारभन्दा कर्तव्य महान् छ । कर्तव्यभन्दा ठुलो अर्को कुनै वस्तु हुन सक्तैन । त्यसैले त हाम्रा धर्मग्रन्थ र उपनिषद्मा कर्तव्यको महिमा र सर्वोच्चताको चर्चा छ । हाम्रा मात्र होइन संसारका सबै धर्मग्रन्थमा कर्तव्यलाई महान् ठानिएको पाइन्छ । आफ्ना माता, पिता र गुरुप्रतिको कर्तव्यलाई हाम्रा ग्रन्थले "मातृ देवो भव, पितृ देवो भव, आचार्य देवो भव", भनेर उल्लेख गरेका छन् । अर्को कुरा संसारमा त्यही व्यक्ति आदर्श व्यक्तिका रूपमा चिनिन्छ जो कर्तव्य पालनाको कसीमा खारिएको हुन्छ ।
दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : ४+४=८
(क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
कर्ममा छ भने शक्ति जङ्गलै बन्छ नन्दन
घोटिएर सयौँपल्ट दाउरो बन्छ चन्दन
भएमा उच्च सङ्कल्प छैन केही असम्भव
सङ्कल्पैले बनेका हुन् महान् मान्छेहरू सव ।
प्रश्नहरू
(अ) 'घोटिएर सयौँपल्ट दाउरो वन्छ चन्दन' भन्नुको तात्पर्य के हो ?
(आ) कवितांशमा मानिस कसरी महान् वन्न सक्छ भनिएको छ ?
(ख) दिइएको जीवनीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
मानव वेदनाको जीवन्त चित्रण भएका कला सिर्जनामा पिकासोले आफ्नो सम्पूर्ण जीवन समर्पण गरे । उनलें कलामार्फत बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ भन्ने दसी प्रस्तुत गरे र कलामार्फत युद्धलाई खरो रूपमा व्यङ्ग्य गरे । त्यसैले त नाजीहरूले पिकासोलाई जर्मनीमा चित्र प्रदर्शन गर्न दिएनन् । उनले भिखारी, जेलमा थुनिएका, दुःख पाएका, हेपिएका र सीमान्तकृत मान्छेका साथै गम्भीर मानसिक समस्या भएका व्यक्तिका चित्रसमेत बनाए । उनले महिलाका मार्मिक र प्रेमिल चित्र पनि बनाए । उनी केवल मान्छेको बाहिरी आवरण मात्र कहाँ हो र, ती व्यक्तिका भित्री वेदना, संवेदना, संवेग, मर्म र सौन्दर्य मूर्त बनेर उनका अमूर्त चित्रभित्र चित्रित हुन्थे ।
प्रश्नहरू
(अ) माथिको अंशमा 'बन्दुकभन्दा कमल र कुची बलियो हुन्छ ।' भन्नुको तात्पर्य के हो ?
(आ) माथिको अंशमा पिकासोको चित्रमा कस्ता कस्ता विशेषता रहेको उल्लेख गरिएको छ ?
यदि 'कर्तव्य' कथाका पात्र मुरलीघरका ठाउँमा तपाईँ हुनुभएको भए आफ्ना माइप्रति कस्तो व्यवहार गर्नुहुन्थ्यो ? तर्क दिएर लेख्नुहोस् । ४
कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् : ४
(क) नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँचे छ
नेपाली भाषा संस्कृति कला साहित्य साँचे छ ।
(ख) नेपाल आयुर्वेद औषधीका लागि भूस्वर्ग हो ।
कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् : ७
(क) दिइएको कथांशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
"याडुजी त्यो दुर्घटनामा कमल नबितेको भए तिमी मेरी बुहारी नै रहन्थ्यौ । अहिले तिमी मेरी छोरी हौ । म महसुस गर्न सक्छु एक्लो बाँच्न कति सकस हुन्छ भनेर । मैले कमलको बुबाविना बिताएको यो १९ वर्षले बोध गराएको छ । म बुभ्छु तिम्रो मनस्थिति । तिमी उनीसँग भावी जीवन बिताउन तयार छ्यौ भने मैले रोक्ने कुरै छैन तर एउटा सर्त छ ।" आमाले अगिपछि भन्दा मसिनोसँग भन्नुभयो ।
प्रश्न
(अ) सासु र बुहारीको सम्बन्धलाई कसरी प्रस्तुत गरेको छ ? कथांश र कथाका आधारमा समीक्षा गर्नुहोस् ।
(ख) दिइएको एकाङ्कीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
किन बस्ने यहाँ ? एक गाँस खानाका निम्ति नोकरी गर्नुपरे आफ्नै घरमा आफ्नै दाजुभाइहरूको गरौँला । जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाऔँला । एक गेडा मकैं भए पनि आफ्नै मातामा उब्जाउँला । यसरी सबैको हेलाहाँसो भएर म त बस्दिनँ यहाँ । साराले आफ्नै देशमा काम पाएका छन्, हामीले विदेशमा यसरी लत्रेर बस्नुपर्छ र ? कहाँ आफ्नो चाडबाड, पर्वमेला, तीर्थव्रत सब छाडेर अर्काको कमारो भएर बस्ने ?
प्रश्न
(अ) 'घरको माया' एकाङ्कीमा देशप्रेमको भावनालाई कुन रूपमा चित्रण गरिएको छ ? माथिको अंश र पाठका आधारमा समेत चर्चा गर्नुहोस् ।
कुनै एक शीर्षकमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : ७
(क) परिवारप्रति मेरो दायित्व
(ख) प्राविधिक शिक्षा : आजको आवश्यकता
(ग) वातावरण र जनस्वास्थ्य