समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : २
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : २
हिजोका दिन दुःख गरेको भए आज मनमा ताप लिएर पिरोलिन पर्दैनथ्यो । आफ्ना आमाबुबा र गुरुको आज्ञाकारी बन्ने मानिस जीवनमा सधैँ सफल हुन सक्छ । अफ दूरदर्शी बन्न सके जीवनमा सुख पाइन्छ ।
(क) 'मनुष्य' को पर्यायवाची शब्द...........हो ।
(ख) 'रात' को विपरीतार्थक शब्द...........हो ।
(ग) अनेकार्थी शब्द ............. हो ।
(घ) 'पछिसम्म हुने कुरामा विचार पुऱ्याउने' पदावलीको सिङ्गो शब्द............हो ।
दिइएको अनुच्छेदबाट एउटा टुक्का र एउटा पारिभाषिक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : २
कसैले मोबाइलमा सन्देश पठाएर बैङ्क खाता र व्यक्तिगत विवरण मागेपछि शुकुमानले मनमनै सोच्यो, "हेर शुकू ! यो तेरो भाग्य चम्केको हो । तेरो तालुमा आलु फल्दै छ । ठालु पल्टेर यसलाई स्विकारिनस् भने तेरो खातामा आउने २५ लाख आउने छैन ।"
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : १
(अ) विशेसञ्ज विशेषाञ्ज विसेषञ्ज विशेषञ्ज
(आ) पर्वेश प्रवेश परवेश पन्वेश
(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : २
बतासेले भनिन, हाम्रा बाबूबाजेले आफ्नो आखिर सास हिमालको बतासमा मिलाए, हामीपनि त्यसै गरौँला ।
दिइएका वाक्यमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् : ३
तिमी दुई जना विवाहपछि पनि आमासँगै बस्नुपर्छ । यो बुढेसकालमा ती आमालाई छाडेर जान पाउन्नौ ।
दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : २+२= ४
(क) दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
आयुर्वेदिक उपचार गर्न हिंडेका संयमले बाटामा पाल्पाली बटुवालाई भेटेपछि सम्मानपूर्वक अभिवादन गर्दै सोधे, "ख्यातिप्राप्त आयुर्वेदिक चिकित्सक यता कतै बसाईँ सर्नुभएको छ रे नि, हजुरलाई थाहा छ ?"
(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :
हामी नेपाली श्रमजीवी र कर्मवीर छौँ । हामी हात र खुट्टा चलुन्जेल पाप र पुण्यको ख्याल गर्दै जालभेल नगरी कर्मको क्षेत्रमा लाग्छौँ । समाजमा बस्दा कहिले ससाना त कहिले ठुलठुला समस्या आइपर्छन् । त्यस्ता समस्या भैभगडा गरेर होइन, आपसमा सरसल्लाह गरेर समाधान गर्छौं ।
दिइएका वाक्यलाई वर्तमान कालको सामान्य पक्षमा परिवर्तन गर्नुहोस् : २
विद्यार्थी दिनहुँ पुस्तकालय गए । उनीहरूले आफूलाई आवश्यक पर्ने सामग्री खोजी खोजी पढे । पढेका विषयवस्तुबारे सबै साथीसँग छलफल गरे । उनीहरूले नबुझेका कुरा शिक्षकलाई सोधे ।
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : २
(क) इच्छार्थक भावका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा देशको उन्नतिका बारेमा वर्णन गर्नुहोस् ।
(ख) दिइएका तृतीय पुरुषका वाक्यलाई वाक्य ढाँचासहित द्वितीय पुरुषमा परिवर्तन गर्नुहोस् :
उनीहरूले देश विदेशका समाचार पढे । उनीहरूले संसारमा भएका सामाजिक परिवर्तनबारे जानकारी पाए । उनीहरू सही र गलत छुट्याउन सक्ने बने । उनीहरू समाजको भलाइ हुने काम गर्न थाले ।
कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : ४
(क) नेपालीहरू स्वदेशमा बस्नुपर्छ । देशको विकास गर्नुपर्छ । (वाक्य संश्लेषण)
(ख) मुस्कान चेपाङले किताब किनिन् । (कर्मवाच्य)
(ग) अनुराग क्रिकेट खेल्छन् । (प्रेरणार्थक)
(घ) छिरिङले भन्यो, "हामी कृषिमा आत्मनिर्भर हुनुपर्छ ।" (अप्रत्यक्ष कथन)
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
तपाईँ नै भन्नुहोस् न, को पर्खेको छैन ? कहाँ पर्खाइ चल्दैन ? त्यसैले दार्शनिक जति घोत्लिइरहन्, वैज्ञानिक जति घोट्टिइरहन्, मलाई त लाग्छ, बाँच्नुको पर्याय नै पर्खनु हो । सोभैँ कुरा गरूँ भने पनि हेर्नोस्, दसौँ महिना आमाको गर्भमा गुँडुल्किएर नपर्खी तपाईँले सूर्यदर्शनको साइत फेला पार्नुभएन । यसरी नजन्मेदेखि पर्खँदै आउनुभएको तपाईँले किशोर भएपछि विद्यालयमा कैयौँ दिन शिक्षकलाई पर्खनुभयो । त्यसैले पर्खाइबाटै सुरु भएको हाम्रो जिन्दगी यता र उता, यसलाई र उसलाई पर्खँदा आज कताबाट यहाँ आइपुगेको छ ।
प्रश्नहरू
(क) 'कहाँ पर्खाइ चल्दैन ?' यस वाक्यलाई करणमा परिवर्तन गर्नुहोस् ।
(ख) अनुच्छेदमा रेखाङ्कित 'विद्यालयमा' शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् ।
(ग) 'तपाईँले सूर्यदर्शनको साइत फेला पार्नुभएन ।' यस वाक्यको उद्देश्य र विधेय पहिचान गर्नुहोस् ।
(घ) 'तपाईँ किशोर भएपछि विद्यालयमा कैयौँ दिन शिक्षकलाई पर्खनुभयो ।' यस वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस् ।
दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
वर्तमान समाज वैज्ञानिक चिन्तनतर्फ उन्मुख हुँदै गइरहेको छ । त्यसैले अब हाम्रो संस्कृति पाप, पुण्य, स्वर्ग, नर्क आदिका आधारमा निर्धारित हुनुहुँदैन । अब पापको हाउगुजीमा मात्र संस्कृति बाँच्दैन । अब त विज्ञानका सापेक्षतामा मानिसका आवश्यकता, खुसी, सुखी र मनोरञ्जनका रूपमा संस्कृतिलाई ग्रहण गरिन्छ । अहिले विज्ञानको सापेक्षतामा नै जीवनको व्याख्या हुन्छ । विज्ञान सत्य र तथ्यमा आधारित हुन्छ र यसले प्रामाणिकतामा विश्वास गर्छ । कुनै कुराको अवलोकन, जाँच र पारखका आधारमा मात्र सत्यनजिक पुगिन्छ भन्ने मान्यता विज्ञानको छ । तसर्थ अबको संस्कृति विज्ञानभन्दा पर रहन सक्दैन । हिजो हामीले मानेका कतिपय कुरा आज अन्धविश्वासमा परिणत भएका छन् । त्यसैले अबको संस्कृति अनुमान र अन्धविश्वासमा होइन, मानव हितका लागि विज्ञानसम्मत हुन आवश्यक छ । यसप्रति हामी सबै सचेत बन्नु जरुरी छ ।
प्रश्नहरू
(क) परम्परागत संस्कृतिका आधार के के हुन् ?
(ख) वर्तमान समाजले संस्कृतिलाई कुन रूपमा ग्रहण गर्न थालेको छ ?
(ग) विज्ञानले किन तथ्यमा विश्वास राख्छ ?
(घ) हाम्रो संस्कृतिको संरक्षण र संवर्धन कसरी गर्न सकिन्छ ?
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : ४
(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
नाम : भवानी भिक्षु
जन्म : वि.सं. १९६६ जेठ २१, तौलिहवा
मातापिता : यशोदादेवी, इन्द्रप्रसाद गुप्ता
शिक्षा : हिन्दी साहित्यमा 'साहित्य कुलभूषण' परीक्षा उत्तीर्ण
कृति : 'गुनकेसरी', 'मैया साहेब', 'आवर्त', 'अवान्तर', (कथा सङ्ग्रह), 'आगत', 'पाइप नं. २', र 'सुन्तली' गरी तीनओटा कवितासङ्ग्रह
सेवा : नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य भएर सेवा गरेका, नेपाली भाषा साहित्यलाई माया गर्ने
पुरस्कार : मदन पुरस्कार (२०३२), साभ्mा पुरस्कार (२०३२), त्रिभुवन प्रज्ञा पुरस्कार (२०३६)
निधन : वि.सं. २०३८ वैशाख ४, काठमाडौँ
(ख) 'सामाजिक सञ्जालको प्रभाव' शीर्षकमा दुई जना पात्रका बिच भएको कुराकानीको विषयवस्तु समेटी संवाद तयार पार्नुहोस् ।
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : ४
(क) आफ्नो समाजमा देखिएको कुनै एक सामाजिक समस्याका बारेमा जानकारी गराउँदै टोलवासीका तर्फबाट स्थानीय पत्रिकाका सम्पादकलाई लेख्ने पत्रको नमुना तयार पार्नुहोस् ।
(ख) विद्यालयले आयोजना गरेको जिल्लास्तरीयं नृत्य प्रतियोगितामा प्रमुख अतिथिका रूपमा उपस्थित भइदिन अनुरोध गर्दै पालिका प्रमुखलाई लेखिने निमन्त्रणा पत्रको नमुना तयार पार्नुहोस् ।
दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् : २
शिक्षालाई मानव जातिको तेस्रो आँखा मानिन्छ । यसलाई हाम्रो भित्री हृदयको नयन पनि भनिन्छ । यो हाम्रा बाहिरी आँखा अथवा चर्मचक्षुभन्दा पृथक, महान् र तेजवान छ । हामीसँग भएको यही ज्ञानचक्षुबाट हामीले शिक्षा आर्जन गर्छौँ अर्थात् कुनै कुरा सुन्छौँ र सिक्छौँ । समाज र प्रकृतिमार्फत सैद्धान्तिक र व्यावहारिक ज्ञान निरन्तर आर्जन गरिरहन्छौँ । प्रकृति, संस्कृति र सभ्यताका दृष्टिले सृष्टिको उषाकालदेखि सुसम्पन्न मेरो देश आज शिक्षाका दृष्टिले समेत प्रगतिपथतर्फ लम्कँदो छ । शिक्षाले नै मानवलाई सम्मान, खुसी र सुखपूर्वक जिउने ज्ञान र सिप प्रदान गर्छ । यसले समाज र राष्ट्रमा प्रचलित मान्यता र विश्वासलाई मानवताका आँखाले हेर्ने र तिनका बारे समालोचनात्मक चिन्तन गर्ने सोच प्रदान गर्छ ।
दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : ३
सन्दुक रुइत आँखाको डाक्टर भएपछि मोतीविन्दुको शल्यक्रियामा सक्रिय भए । शल्यक्रिया गर्ने प्रविधि पुरानै थियो । जुन प्रविधिबाट मोतिविन्दुको उपचार गरिन्थ्यो त्यसबाट बिरामीलाई पीडाबोध मात्र नभई रोग बल्झिने समस्या पनि हुन्थ्यो । आँखामा लेन्स राख्ने पद्धति निकै महँगो थियो । बिरामीले उपचार र शल्यक्रियापछि पनि बाक्लो सिसा भएको चस्मा लगाउनुपथ्र्यो । रुइत सरल र सस्तो पद्धतिबाट आँखा रोगीको उपचार गर्न चाहन्थे । त्यसैले समूह बनाएर ठाउँ ठाउँमा पुगेर आँखा उपचारमा सहभागी हुँदै शल्यक्रिया र अनुसन्धान गर्दै जाँदा उनले नयाँ प्रविधिको आविष्कार गरे । यो प्रविधि सबैभन्दा सस्तो र भरपर्दो साबित भयो । यही प्रविधि अन्तर्राष्ट्रिय जगत्मा नेपाली प्रविधि अर्थात् रुइतेक्टोमीका रूपमा विश्वभरि चर्चित छ ।
दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : ४+४=८
(क) दिइएको कथ्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
कृष्ण राय विचार गर्न थाले, "यस जीवनमा मैले कसैलाई आफ्नो शत्रु बनाइनँ, भगडा फसादमा रहिनँ ।" उनलाई पहिले त कसैले आक्रमण गरेको हो भन्ने कुरामा विश्वास भएन । सब तन्द्रा अवस्थामा भ्रम जस्तो लाग्यो तर भित्तामा लागेर भाँचिएको लट्ठीको टुक्रा त भ्रम हुन सक्दैन । उनले बिछ्यौनाबाट निहुरिकन त्यस टुक्रालाई टिपे, हेरेर गन्न थाले, "को मेरो शत्रु हुन सक्छ ?"
प्रश्नहरू
(अ) कृष्ण रायले आफूलाई शत्रुरहित ठान्नुको कारण के हो ?
(आ) कथांशमा कृष्ण रायको कस्तो मानसिकताको चित्रण गरिएको छ ?
(ब) दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
नेपाल आयुर्वेदिक औषधीका लागि भूस्वर्ग मानिन्छ । नेपालका आयुर्वेदिक महत्त्वका जडीबुटीले नेपालको समृद्धिको ढोका खोल्न सक्छन् । नेपाल बहुमूल्य र घातक रोग जडीबुटीले नेपालको समृद्धिको ढोका खोल्न सक्छन् । रामायणमा वर्णन भएअनुसार युद्धमा निको पार्ने जडीबुटीको अजस्र भण्डार हो । रामायणमा वर्णन भएअनुसार युद्धमा लक्ष्मण घाइते हुँदा सञ्जीवनी बुटी लिन नेपालको हिमाल क्षेत्रमा पठाइएको प्रसङ्ग पनि स्मरणीय छ ।
प्रश्नहरू
(अ) नेपाललाई किन आयुर्वेदिक औषधीको भूस्वर्ग मानिन्छ ?
(आ) आयुर्वेदिक जडीबुटीले नेपालको समृद्धिको ढोका कसरी खोल्छ ?
यदि तपाईँ 'घरको माया' एकाङ्कीको पात्र लालबहादुर हुनुभएको भए साथीहरू स्वदेश फर्केँदा के गर्नुहुन्थ्यो ? आफ्ना तर्क लेख्नुहोस् । ४
कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् : ४
(क) बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ ।
(ख) पहाड भन्छ पिसना पाए म स्वर्ग भुलाउँथेँ
तराई भन्छ सिँचाइ पाए म सुन भुलाउँथेँ ।
कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् : ७
(क) दिइएको कथ्यांश पढी सोधिएका प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् :
बाबुको स्थानमा मुरलीधर बस्न गएको देखेर बरियातमा आएका ठिटा परस्पर कानेखुसी गर्न थाले । मुरलीधर जिल्लाभरिका विख्यात पण्डित थिए । उनलाई कन्यापक्षका धेरै मानिसले चिन्थे । श्रीधर र मुरलीधरले जिउनीका विषयमा वर्षदिनसम्म मुद्दा लडेको पनि धेरै जनालाई थाहा थियो । कन्यापक्षका बुढापाकाले भने, "त्यस्ता महापुरुषका सन्तान आफ्नो कर्तव्य किन छोड्थे । तव पो मानिस कुलघरान भन्छन् ।"
प्रश्न
(अ) 'कर्तव्य' कथामा नेपाली समाजको वास्तविकतालाई कसरी प्रस्तुत गरिएको छ ? समीक्षा गर्नुहोस् ।
(ख) दिइएको कवितांश पढी सोधिएका प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् :
प्रिय सम्पादक !
फेरि कुन देशको कल्पना गरेर छापिरहनुभएको छ तपाईँ
वम वर्षका खबरहरू
बालिग मताधिकारका कुराहरू
साहित्यिक आन्दोलनका इतिहासहरू
अन्तरिक्ष यानका गतिविधिहरू
तपाईँले गर्व गर्ने सगरमाथालाई काँधमा बोकेर उभिएको यो गाउँ !
तपाईँलाई नगारिकताको प्रमाणपत्र बाँड्ने देशको जन्मदाता यो गाउँ !
अहिले पनि यो
ढिकीच्याउँ ढिकीच्याउँ !!
एउटा खुट्टो उचालेर ढिकीमा उभिइरहेकै छ ।
प्रश्न
(अ) 'गाउँमाथि एउटा कविता' कवितामा ग्रामीण जनजीवनको कस्तो चित्र उतारिएको छ ? समीक्षा गर्नुहोस् ।
कुनै एक शीर्षकमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : ७
(क) मेरो कल्पनाको नेपाल
(ख) पर्यटन व्यवसायका सम्भावना र चुनौती
(ग) नैतिक शिक्षा : आजको आवश्यकता