Nepali Question Paper 2082 Bagmati Province | SEEpapers.com

Views: ...

Symbol No ................
RE-1021'BP'
bagmati
SEE 2082 (2026)
अनिवार्य नेपाली
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
दिइएको निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर लेख्नुहोस् :

1.

समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोड्ा मिलाउनुहोस् : २

समूह 'क' परिष्कार मस्तक मनिटर लाठे
समूह 'ख' विकल्पमा आउने रोपाईंमा कोदालाको काम गर्ने व्यक्ति त्रुटि हटाउने काम कपडाको टुक्रो कम्प्युटरको स्क्रिन शिर

2.

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : २
उनको देहावसानले गर्दा वरिपरि गाउँको अपार क्षति भयो । भोका नाङ्गा, दीन, दुःखी दरिद्रका बाबु मरे । बुढाबुढी र असहायको टेक्ने लट्ठी भाँचियो । न्यायको बत्ती निभ्यो । अनाथ अशक्तको आशास्तम्भ ढल्यो । गाउँका 'धन्वन्तरि' अस्ताए । आशाको त्यान्द्रो पनि छिन्यो ।
(क) 'निसाफ' को पर्यायवाची शब्द...........हो ।
(ख) 'सुखी' को विपरीतार्थक शब्द...........हो ।
(ग) 'दिन' शब्दको श्रुतिसमभिन्नार्थी शब्द ............. हो ।
(घ) 'पराल' को लघुतावाची शब्द .............हो ।

3.

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : २
जता काफल पाक्छ उतै चरी नाच्छ भन्दै नवनियुक्त प्रधानाध्यापकलाई माला लगाउन पुगेका एक जना शिक्षक टेबुलमा माला थपक्क राखेर हात मिलाउन थाले । अर्का शिक्षक भने ल्हासामा सुन छ कान मेरो बुच्चै भन्दै जुरुक्क उठेर आफ्नो बाटो लागे ।

4.

(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : १
(अ) वातावरण    वाताबरण    वातावरण    वाताबरण
(आ) भन्डा    भण्डा    भनुडा    भँडा

(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : २
प्रतिभाशालि महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका मूनामदन कुञ्जिनी र लुनी खण्डकाव्य नेपाल भरि चर्चित छन् ।

5.

दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् : ३
परिश्रमीले कर्म गरेर खान जानेका हुन्छन् । असल कर्मको महत्त्व उनीहरूले बुझेका हुन्छन् । पाखुरा बजारेर जीवन निर्वाह गर्ने उनीहरूप्रति सबै व्यक्तिले सम्मान गर्नैपर्छ ।

6.

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : २+२= ४
(क) दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासहित देखाउनुहोस् :
आज ग्रामीण जनजीवन सहरिया बन्दै तडकभडकमा डुब्दै गएको देख्दा समाजका प्रबुद्ध व्यक्तिसमेत चिन्तित बनेका छन् । विज्ञान र प्रविधिले जन्माएका यन्त्रमानव भैँ मानिस विचित्रका कुरूप प्राणी बनुहुँदैन ।

(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :
हिजो आजका मानिससँग आल्तुफल्तु समय कहाँ छ र ? उनीहरू जीविकोपार्जनका लागि रातदिन कामसाम गर्न बाध्य छन् । आखिर हात र मुख जोर्न छलछाम गर्नुभन्दा त आआफ्नै कामकाजमा ध्यान दिनु बद्धिमानी हुन्छ ।

7.

दिइएका वाक्यलाई भविष्यत् कालको सामन्य पक्षमा परिवर्तन गर्नुहोस् : २
मनोहर विद्यालय गयो । मनोहरले विद्यालयमा पढ्यो । मनोहरले कक्षा कार्य गऱ्यो । मनोहर घर फर्कियो ।

8.

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : २
(क) सम्भावनार्थक भावका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा आफ्नो टोलको विकासका बारेमा वर्णन गर्नुहोस् ।

(ख) दिइएका तृतीय पुरुषका वाक्यलाई द्वितीय पुरुषमा परिवर्तन गर्नुहोस् :
उनी असल विद्यार्थी हुन् । उनी कक्षामा सबैभन्दा बढी उपस्थित हुन्छन् । उनी सबैलाई आदर गर्छन् । उनी पढाइका साथै खेलकुदमा पनि रुचि राख्छन् ।

9.

कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : ४
(क) हामी बन्दीपुर गयौं । हामी रमायौं । (वाक्य संश्लेषण)
(ख) गोपाल छाता ओढ्छ । (कर्मवाच्य)
(ग) विद्यार्थी खेल खेल्दै थिए । (प्रेरणार्थक)
(घ) सुबोधले भाइलाई आज बजार नजाने कुरा सुनायो । (प्रत्यक्ष कथन)

10.

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
देवकोटाको जागिरे जीवनयात्रा पनि नदी भैँ एकनासले कहिल्यै बगेन । उनको जीवनमा कहिलेकाहीं कहाली लाग्दा दुखैदुःख निम्तिए । देवकोटा ३४ वर्षको उमेरमा नै नेपाली भाषानुवाद परिषद्मा नेपाली पुस्तक लेखकका रूपमा जागिरे भए । यो जागिर अवधि उनको लेखन यात्राको स्वर्णकाल रह्यो । यसै समयमा उनले उत्कृष्ट खालका महाकाव्य र खण्डकाव्यका साथै थुप्रै कविता, गीत, बालकविता कथा र निबन्ध रचना गरेका छन् । देवकोटाको महासागर जस्तो प्रतिभा राणाहरूको निरङ्कुशताको साँघुरो सूर्खभित्र कमरी बग्न सक्थ्यो र ? मुलुकमा जति वेला प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिको आगो सल्कदै थियो, त्यति वेला उनले पनि विद्रोहको बाटो समाते । उनी वि.सं. २००४ मा प्रजातान्त्रिक आन्दोलनमा संलग्न भए । उनी घरपरिवार कसैलाई थाहा नदिई वनारसतर्फ प्रवासिए । त्यहाँबाट निस्कने "युगवाणी" पत्रिकामार्फत निरङ्कुशता विरुद्ध युगले चाहेको विद्रोहको वाणी फुके । त्यहाँ उनी सिकिस्त बिरामी परे । उनी शारीरिक अवस्था भनभन विग्रँदा बोल्न पनि नसक्ने अवस्थामा पुगे । असक्त भई प्राणै जोगाउन मुस्किल परेपछि उनले विदेशमा बसेर मर्नुभन्दा आफ्नै देशमा बसेर सक्दो सेवा गर्ने विचार लिए र काठमाडौँ आए ।
प्रश्नहरू
(क) 'त्यति वेला देवकोटाले विद्रोहको बाटो समाते' यो वाक्यलाई अंकरणमा परिवर्तन गर्नुहोस् ।
(ख) अनुच्छेदमा रेखाङ्कित 'त्यहाँबाट' शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् ।
(ग) 'त्यहाँ उनी सिकिस्त बिरामी परे ।' यस वाक्यको उद्देश्य र विधेय पहिचान गरी लेख्नुहोस् ।
(घ) 'उनी शारीरिक अवस्था भनभन विग्रँदा बोल्न पनि नसक्ने अवस्थामा पुगे ।' यस वाक्यलाई संयुक्त वाक्यमा परिवर्तन गर्नुहोस् ।

11.

दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
नेपालको प्राकृतिक, भौगोलिक, सामाजिक र सांस्कृतिक पर्यावरण जैविक खेतीका लागि अनुकूल छ । प्रशस्त मात्रामा जङ्गल, चरन सुविधा र पानीको स्रोत भएकाले नेपालमा व्यावसायिक रूपमा गाई, भैँसी, बाख्रा, भेडा, कुखुरा, सुँगुर, माछा जस्ता पशुपन्छी पाल्न सकिन्छ । यसबाट पर्याप्त मात्रामा दुध, दही, घिउ, उन, मह, चिज आदिको उत्पादनका साथै प्राङ्गारिक मल उत्पादन हुन्छ । पानीको स्रोत उपयोग गरेर सिँचाइको राम्रो व्यवस्था गर्न सकिन्छ । बहुसङ्ख्यक नेपालीको पुख्यौली व्यवसाय जैविक खेती नै भएकाले त्यसलाई थोरै आधुनिक र व्यावसायिक बनाइदिए पुग्छ । अब नेपालका गाउँ गाउँसम्म सडक यातायात पुग्न थालेको छ । उत्पादित वस्तुलाई बजारसम्म पुऱ्याउन सहज बन्दै छ । जैविक खाद्यवस्तु देशभित्र र विदेशमा पनि महँगो मूल्यमा सजिलै विक्री हुन्छ । वर्षेनी अरवौं रुपियाँको खाद्यपदार्थ आयात गर्न अहिलेको नेपालको बाध्यता बनेको छ । निर्वाहमुखी र परम्परागत खेतीका कारण यस्तो भएको हो । जैविक खेतीलाई वृहत् अभियानका रूपमा अगाडि बढाउन सके नेपाल खाद्यान्नमा आत्मनिर्भर हुन सक्छ । नेपालमा व्यावसायिक जैविक खेतीलाई रोजगारीको मुख्य आधार बनाउन सकिन्छ ।
युवाहरू स्वदेशमा नै रहँदा राष्ट्र विकासमा सकारात्मक प्रभाव पर्छ । परनिर्भरता घटन जाँदा स्वावलम्बी संस्कृतिको विकास हुन्छ ।
प्रश्नहरू
(क) नेपालको सन्दर्भमा जैविक खेतीका लागि कुन कुन पक्ष अनुकूल छन् ?
(ख) जैविक खाद्यवस्तु कहाँ कहाँ विक्री हुन्छन् ?
(ग) जैविक खाद्यवस्तु किन महँगो मूल्यमा विक्री हुन्छ ?
(घ) नेपाललाई खाद्यान्नमा कसरी आत्मनिर्भर बनाउन सकिन्छ ?

12.

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : ४
(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
नाम :        अरुणा लामा
जन्म :       वि.सं. २००२ भाद्र २४ गते
जन्मस्थान :   दार्जिलिङ, भारत
विशेषता :    स्वरमा सुकोमलता र सुमधुरता
              अन्तर्मनका मर्म र करुणाको स्वर प्रतिध्वनित
              भावपूर्ण र करुणापूर्ण स्वर
              जातीय सचेतता र मानवीय संवेदनाको उत्कर्ष
सम्मान :     स्वर किन्नरीका रूपमा सम्मानित नारी प्रतिभा
              'छिन्नलता' पुरस्कारद्वारा सम्मानित
              'कान्छी' चलचित्रकी उत्कृष्ट गायिका
पुरस्कार :    'उर्वशी' चलचित्र पुरस्कार
              भारतस्थित कलकत्ताको 'दिसारी' पुरस्कार
मृत्यु :       वि.सं. २०५४ माघ २२ गते

(ख) 'फोहोरमैला व्यवस्थापन' शीर्षकमा दुई जना साथीबिच भएको संवाद तयार पार्नुहोस् ।

13.

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : ४
(क) खाली जमिनमा वृक्षरोपण गर्नका लागि आवश्यक बिरुवाको माग गर्दै जिल्ला वन कार्यालयलाई लेखिने निवेदनको नमुना तयार पानुहोस् ।
(ख) विद्यालयले मनाएको वार्षिकोत्सव कार्यक्रमका विषयवस्तु समेटी राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गरिने समाचारको नमुना तयार पार्नुहोस् ।

14.

दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् : २
ससाना कार्यबाट प्राप्त हुने ठुलठुला परिणामले पनि कर्तव्यको महानता भल्काउँछ । हरेक नागरिकले गर्नुपर्ने आआफ्ना कर्तव्यका दायरा छन् । आआफ्ना ठाउँबाट सबैले आआफ्नो कर्तव्य निर्वाह गरेको समाज सभ्य हुन्छ र सुसंस्कृत हुन्छ । ससाना कुरा मात्र हेरौँ न ! नागरिकले आआफ्ना घर वरिपरि सफा गरे भने सिङ्गो गाउँ वा सहर सफा हुन्छ । कृषकले भरी, बादल नभनी गरेको मिहिनेतले सबैले खाने अन्न उत्पादन हुन्छ ।
समाजमा बस्ने नागरिकले एकअर्काको अस्तित्वको सम्मान र आदर गर्दै आफ्नो दायित्व निर्वाह गरेको समाज आदर्श समाज हुन्छ । शिक्षकले पेसाप्रतिको निष्ठा र सोअनुसारको आचरण गर्दा शिक्षकको कर्तव्य पूरा हुन्छ ।

15.

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : ३
आयुर्वेदिक उपचार पद्धतिमा व्यवस्थापन, सङ्गठन र निदानमा समेत केन्द्री सीमा रहेका छन् । दुर्घटनामा परी अङ्गभङ्ग भएको साथै एपेन्डिसाइटिस, हृदयघात, पक्षघात आदि रोगबाट पीडित बिरामी, शल्यक्रियाबाट गरिने उपचार, सघन उपचार आदिमा राखेर गरिने उपचारमा एलोप्याथीको सहयोग लिनुपर्ने व्यवस्था छ । साथै आयुर्वेद उपचारका नाममा जसले पनि औषधी बेच्नु, भिडभाड हुने ठाउँमा हकरले पनि औषधी बेच्नु र त्यसलाई रोक्ने कुनै संयन्त्र नहुनु र यसरी जो पायो त्यसले घरघरै स्वघोषित आयुर्वेदिक वैद्य बनेर उपचार गर्नु जस्ता यसका सीमा हुन् । आयुर्वेदिक औषधीको पार्श्वप्रभाव न्यून हुन्छ । धेरै खायो भने चिनी पनि तितो हुन्छ भने भैँ नजानी नजानी त्यस्ता औषधी खाँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।

16.

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : ४+४=८

(क) दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
खुसी घाँटीमा नै अड्किए जस्तो भयो । बोल्नै गाह्रो भयो । मैले आमालाई गम्लड्ड अँगालो हालेँ । आमाको छातीबाट न्यानो प्रसार भएर मेरो भित्र हृदयमा पुग्यो । म निकै बेरसम्म अँगालोमै बेरिइरहेँ । मेरो हिक्क भनन् भनन् बढेर आयो ।
प्रश्नहरू
(अ) 'म' पात्र आमाको अँगालोमा बाँधिएर किन हिक्क हिक्क गरिन् ?
(आ) कथांशमा म पात्रको कस्तो अवस्थालाई चित्रण गरिएको छ ?

(ख) दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
सादा जीवन, उच्च विचार र मानव सेवामा समर्पित भएका कारण रुइत आफ्ना सपना पूरा गर्न सफल भएका हुन् । सफल र लोकप्रिय बन्न विदेशै जानुपर्छ भन्ने सोचलाई रुइतले गलत सावित गरिदिएका छन् । नेपालमै बसेर संसारभरका मानिसको सेवा गर्न र जीवनलाई सार्थक बनाउन सकिन्छ भन्ने कुराका लागि रुइतको जीवनी अनुपम दृष्टान्त हो । धैर्य, साहस, दृढ इच्छाशक्ति र सङ्घर्षबाट मानिस आफ्नो लक्ष्यमा पुग्न सक्छ भन्ने कुराको प्रेरणा उनको जीवनीबाट पाउन सकिन्छ ।
प्रश्नहरू
(अ) स्वदेशमै बसेर जीवन सार्थक पार्न के गर्नुपर्छ ? अनुच्छेदका आधारमा लेख्नुहोस् ।
(आ) सन्दुक रुइतबाट के प्रेरणा पाउन सकिन्छ ? माथिको अंशका आधारमा लेख्नुहोस् ।

17.

यदि तपाईँ 'घरभगडा' कथाकी पात्र राजेन्द्रलक्ष्मी हुनुभएको भए देवर बहादुर शाहप्रति तपाईँको व्यवहार कस्तो हुन्थ्यो ? तर्क दिई लेख्नुहोस् । ४

18.

कुनै एक उदाहरणको व्याख्या गर्नुहोस् : ४
(क) नेपाल भोको रहन्छ सितो एउटैले नखाए
     नेपाल नाङ्गो रहन्छ टालो एउटैले नलाए ।
(ख) सबै पर्खाइको पछिल्तिर मेरा सयौं सपना पर्धिरहने छन्, इच्छा र आकाङ्क्षा पर्धिरहने छन् ।

19.

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् : ७

(क) दिइएको कथांश पढी सोधिएका प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् :
कसले भन्छ अकारण नै कोही शत्रु हुँदैन ? मानेँ अकारण कोही कसैको शत्रु हुँदैन तर भगडाको निहुँ कति सजिलै पाइन्छ ? कृष्ण रायले धेरैसँग सङ्गत गरेनन् तर जतिसँग गरे सबैलाई तिनीसँग 'बापवैर साँध्ने कुनै न कुनै निहुँ दिए । कस्तो अचम्म, निर्दोष कुरामा पनि विषालु साँप जस्तै बैरी बनाउने साधन लुकिरहेको देखिन्छ । भोलिपल्ट यो घटनाको जाँच हुँदा पुलिसको इन्स्पेक्टरले तिनलाई सोध्यो, "तपाइँलाई कसैमाथि शङ्का छ ?" कृष्ण रायले गम्भीर भएर उत्तर दिए, "रामे, केदार, युवक, गोविन्द पण्डित, कन्हैया, मास्टर, बुधे, लीला, पुष्पराज, रामचन्द्र पराजुली......."
प्रश्न
(अ) 'शत्रु' कथाका पात्र कृष्ण रायका मनमा उब्जिएका मानसिक उतार चढावलाई कथाका आधारमा समीक्षा गर्नुहोस् ।

(ख) दिइएको एकाङ्कीको अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
आफ्नो गाउँमा त भकारो कै छेउमा गुन्द्री हालेर सुत्दा पनि गनाउँदैनथ्यो, मलकै भारी बोक्दा पनि गनाउँन्नथ्यो । फेरि तातो पानी, तातो हावा, यस्तो दुःख खाएर को बस्न सक्छ यहाँ ? भोकै परे पनि बरु आफ्नै देशमा कुवाको चिसो पानी पिएर बरको चौतारीमा शीतल हावा खाएर सुतौँला नि । जमानसिंह दाइ, हिँड तिमी पनि, जाऔँ आफ्नै घर, आफ्नै देश ।
प्रश्न
(अ) हाल युवावर्ग विदेश पलायन भइरहेको समयमा एकाङ्कीकारले पात्र 'बतासे' का माध्यमबाट कस्तो सन्देश दिन खोजेका छन् ? पाठका आधारमा समीक्षा गर्नुहोस् ।

20.

कुनै एक शीर्षकमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : ७
(क) राष्ट्रप्रति मेरो कर्तव्य
(ख) सूचना र प्रविधिको महत्त्व
(ग) यातायात र विकास