समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : २
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : २
आधुनिक समयमा पनि विकट क्षेत्रका मानिस सल्लाको दियालो बालेर घर उज्यालो पार्छन् । सालको पातको टपरी बनाएर त्यसलाई थालीका रूपमा प्रयोग गरिरहेका छन् । तातोपनका खोजीका लागि सालका दाउरा बालेर आगो ताछन् ।
(क) 'काल' को पर्यायवाची शब्द .......... हो ।
(ख) 'अँध्यारो' विपरीतार्थी शब्द .......... हो ।
(ग) 'थाल' को लघुतावाची शब्द .......... हो ।
(घ) अनेकार्थी शब्द ........... हो ।
दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : २
मलाई मेरो पुरानो साथीको भलक्क याद आयो । त्यो साथीले जहिले पनि अर्थ न वर्थ गोविन्द गाई भने भैँ कुरा गरेर सवैलाई हैरान पार्थ्यो । त्यसैले बाँदरको पुच्छर लौरो न हतियार भनी मैले उसको साथ चटक्क छोडेँ ।
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : १
(अ) (i) सोसण (ii) शोसण (iii) शोषण (iv) शोशण
(आ) (i) घन्टाघर (ii) घण्टाघर (iii) घंटाघर (iv) घड्टाघर
(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : २
पख्नोस्, हामी तपाईँ सँग केहि कुरा गछौँ हामी कुनै ठाउँमा गाएर बसौँ ।
रेखाङ्कित शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् : ३
आफ्ना बृवालाई घरमा एकलै छाडेर उनी कता हिँडेछन् । बिरामले थला परेका मानिसलाई यसरी छोड्न हुँदैन । अभ घरभित्र पो थुनेका रहेछन् ।
दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : २+२=४
(क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
आयुर्वेद चिकित्सासम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धान प्रविधिलाई व्यापक र व्यावहारिक बनाउने उद्देश्यका साथ विभिन्न शैक्षिक संस्था स्थापना भएका छन् । त्यहाँ उपचार गर्न गाउँले र सहरिया मानिस आउँछन् ।
(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्विित्व भएर बनेका दुई ओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
वनसा वास बस्न गाह्रो भएपछि परदेश लागेका दाजुभाइ घर फर्किए । भानिज दाइले उनीहरूलाई खुसी हुँदै स्वागत गरे । जान्नेसुन्ने मान्छेले उनीहरूलाई ससाना कुरादेखि ठूलठुला कुराको चुरो बुझाए ।
दिइएको अनुच्छेदलाई पूर्ण भविष्यत् कालमा परिवर्तन गर्नुहोस् : २
हामी पोखरा जान्छौँ । त्यहाँको सफा होटलमा खाना खान्छौँ । त्यहाँको सौन्दर्यमा रमाउछौँ । तीन दिनपछि घर फर्किन्छौँ ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : २
(क) सामान्यार्थ भावका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा मानव स्वास्थ्यमा खेलकुदको महत्त्वबारे वर्णन गर्नुहोस् ।
(ख) दिइएको द्वितीय पुरुषका वाक्यलाई तृतीय पुरुषमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
तिमी बिहान सवेरै उठ्छौ । तिमी नियमित विद्यालय जान्छौ । तिमी किताबी ज्ञानका साथै प्राकृतिक विषयमा पनि चासो देखाउँछौ । तिमी सवैको भलो चाहन्छौ ।
कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : ४
(क) उज्यालो भएकाले चराहरू चिरबिराए । (वाक्य विश्लेषण)
(ख) श्वेताले फूलहरू टिपिन् । (कर्मवाच्य)
(ग) मैले नेपालीमा टाइप गर्न सिकेँ । (प्रेरणार्थक)
(घ) देवकोटाले मानिस ठुलो दिलले हुन्छ जातले हुँदै भने । (प्रत्यक्ष कथन)
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
कर्तव्यको दायरा पनि निकै फराकिलो छ र यसका अनेकौँ प्रकार छन् । कर्तव्यलाई व्यक्तिगत, पारिवारिक, सामाजिक, कानुनी गरी विविध रूपमा वर्गीकरण गर्न सकिन्छ । मूलतः कर्तव्य दुई प्रकारका हुन्छन् : नैतिक र वैधानिक कर्तव्य । नैतिक कर्तव्यको आधार व्यक्तिको नैतिक वा समाजसेवा वा मानव कल्याणका निम्ति उद्बुद्ध चेतना हो । परोपकार गर्नु नैतिक कर्तव्य हो । समाजसेवा गर्नु नैतिक कर्तव्य हो । कुनै व्यक्तिले पाटीपौवा, धारा र विद्यालय भवन बनाउँछ भने त्यो पनि नैतिक कर्तव्य हो । यी कर्तव्य पालन गर्न र गराउन कसैले बाध्य पार्दैन । यो त हृदयदेखि नै निःस्वार्थ समाजसेवा जागृत भाएर गरिने कर्म हो । आफैँले इमान्दारिताथ पालना गर्नुपर्ने कुरा हो । मदर टेरेसाको समाजसेवा निःस्वार्थ कर्तव्यपरायणताका परिणाम थियो । महावीर पुनको "आविष्कार केन्द्र" मात्र होइन हाम्रो समाजमा परापूर्वकालदेखि हालसम्म बनेका पाटीपौवा र धर्मशाला जसले बनाएका छन् ती सवै कर्तव्यपालनाको अन्तः प्रेरणाकै प्रतिफल हुन् ।
प्रश्नहरू
(क) "कर्तव्यलाई व्यक्तिगत, पारिवारिक, सामाजिक, कानुनी गरी विविध रूपमा वर्गीकरण गर्न सकिन्छ ।" यस वाक्यलाई अकरणमा परिवर्तन गर्नुहोस् ।
(ख) रेखाङ्कित 'समाजमा' शब्दको कारक र विभक्तिको नाम लेख्नुहोस् ।
(ग) "मदर टेरेसाको समाजसेवा निःस्वार्थ कर्तव्यपरायणताको परिणाम थियो ।" यस वाक्यलाई आलङ्कारिक पदक्रममा परिवर्तन गर्नुहोस् ।
(घ) "कुनै व्यक्तिले पाटीपौवा, धारा र विद्यालय भवन बनाउँछ भने त्यो पनि नैतिक कर्तव्य हो ।" यस वाक्यलाई सरल वाक्यमा परिवर्तन गर्नुहोस् ।
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
जलवायुको स्वाभाविक गतिमा प्रभाव पर्नाको मुख्य कारण मानवीय गतिविधि नै हो । विकास निर्माणका नाममा वातावरणीय प्रभावको अध्ययन नगरी गरिने गतिविधि नै जलवायु परिवर्तनको मुख्य कारण हो । यस क्रममा मानिसद्वारा खोलिएका ठूला ठूला कारखाना, वनविनाश गर्दै बसाइएका मानव बस्ती, प्राकृतिक संरचनालाई भत्काउँदै बनाइएका बाटा, सुरुड, यातायातका साधन, आणविक भट्टी आदिको सङ्ख्या वृद्धिसँगै वातावरणीय प्रदूषण बढेको छ र वायुमण्डलमा रहेको कार्बन डाइअक्साइडलगायत अन्य हरितगृह प्रभावअनुरूप ग्यासहरूको मात्रामा वृद्धि भएको छ । वायुमण्डलको संरचनामा भूमिका निर्वाह गर्ने ग्यासहरूको अनुपातमा फेरबदलले र मूलतः कार्बन डाइअक्साइडको मात्रा बढ्नाले पृथ्वीको तापक्रम बढ्न थालेको छ । पृथ्वीको तापक्रममा आएको यस्तो अस्वाभाविक वृद्धि नै जलवायु परिवर्तनको मुख्य कारण बनेको छ । तापक्रममा आएका यस्ता अस्वाभाविक वृद्धिले हिउँ पग्लिने क्रम बढेको छ । हिमाल काला पत्थरमा रूपान्तरण हुँदै छन् । यसले गर्दा निश्चित हावापानीमा रम्ने जीवजन्तु र वनस्पतिको जीवन सङ्कटग्रस्त भएको छ । बाढी, पहिरो, अनावृष्टि, अतिवृष्टि, खण्डवृष्टिलगायत प्राकृतिक प्रकोप बढेकाले समुद्रको सतह बढ्दै गाएको छ । समुद्री तटका बस्तीलगायत माल्दिभ्स जस्ता टापु डुबानमा पर्दै छन् । केही नयाँ जीवनको जन्म हुँदै धेरै पुराना जीव लोप हुँदै छन् । यसले गर्दा जैविक विविधताले कायम गराउने वातावरणीय सन्तुलन धरापमा परेको छ । जलवायुमा देखापर्ने यस्तो अस्वाभाविक परिवर्तनले सारा प्राणीका साथसाथै मानवजातिकै अस्तित्व सङ्कटमा पर्न सक्ने स्थिति देखा परेको छ ।
प्रश्नहरू
(क) जलवायु परिवर्तनको मुख्य कारण के हो ?
(ख) पृथ्वीको तापक्रम किन बढेको हो ?
(ग) जलवायु परिवर्तनले हिमालको स्वरूप कस्तो बनाएको छ ?
(घ) जलवायु परिवर्तनले मानव जातिमा के कस्तो परिस्थिति आउने सम्भावना छ ?
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
नाम : गोपालप्रसाद रिमाल
जन्म : वि.सं. १९७५ जेष्ठ १८, काठमाडौँ
माता/पिता : आदित्य कुमारी र उमाकान्त रिमाल
शिक्षा : वि.सं. १९९३ सालको एस.एल.सी. को बोर्डमा प्रथम श्रेणीमा प्रथम, आई.ए. पढ्दै गर्दा आर्थिक कारणले पढाइ छाडेका
कृतिगत विशेषता : निडर, क्रान्तिकारी, स्वाभिमानी, राष्ट्रप्रेमी, नारीवादी चिन्तनलाई साहित्यिक सिर्जना गर्नु, गद्य कविताका प्रवर्तक, नाट्य विधाका स्रष्टा
सम्मान, पुरस्कार : मदन पुरस्कार र त्रिभुवन पुरस्कारकाबाट सम्मानित
मृत्यु : वि.सं. २०३०, कार्तिक ८ गते
(ख) आफ्नो विद्यालयद्वारा आयोजित खेलकुद प्रतियोगितामा भाग लिई पुरस्कृत हुँदाका क्षणमा आफ्ना मनमा उब्जेका मनोभाव समेटी एउटा मनोवाद तयार गर्नुहोस् ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) दुर्व्यसनले समाजमा पार्ने असरका सम्बन्धमा युवावर्गलाई सचेत गराउन अनुरोध गर्दै गोरखापत्रका सम्पादकलाई लेख्ने चिठीको नमुना तयार पार्नुहोस् ।
(ख) विद्यालयको वार्षिकोत्सवमा अभिभावक तथा अतिथिलाई निमन्त्रणा गर्ने पत्रको नमुना तयार पार्नुहोस् ।
दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् : २
पिकासोको चित्रकलामा 'घनवाद' को सशक्त प्रयोग भएको पाइन्छ । घनवादको प्रयोग भएको यस काललाई निग्रो काल पनि भनिन्छ । घनवादी कलाकृतिमा वस्तुलाई विश्लेषण गरिन्छ । टुक्रा टुक्रा पारिन्छ । ती टुक्रालाई अमूर्त रूपमा पुनः संयोजन र संश्लेषण गरिन्छ । यसमा कलाकारले वस्तुलाई एउटै दृष्टिकोणबाट चित्रण नगरी वृहत्तर सन्दर्भमा प्रतिनिधित्व गर्न धेरै दृष्टिकोणबाट विषयलाई चित्रण गर्छन् । यसरी मूर्त वस्तुलाई भाँच्ने, टुक्र्याउने, अनि जोडेर फेरि वस्तु र विषयलाई व्यापक अर्थमा र अमूर्त रूपमा प्रयुक्त गर्ने यही वाद नै घनवादी कलाका रूपमा चिनिन्छ । यसरी जुनसुकै कालमा लेखिएका भए पनि उनका हजारौँ चित्रकला र मूर्तिकला आज पनि जीवन्त छन् ।
दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : ३
शिक्षालाई मानव जातिको तेस्रो आँखा मानिन्छ । यसलाई हाम्रो भित्री हृदयको नयन पनि भनिन्छ । यो हाम्रो बाहिरी आँखा अथवा चर्मचक्षुभन्दा पृथक्, महान् र तेजवान् छ । हामीसँग भएको यही ज्ञानचक्षुबाट हामीले शिक्षा आर्जन गर्छौँ अर्थात् कुनै कुरा सुन्छौँ र सिक्छौँ, समाज र प्रकृतिमार्फत सैद्धान्तिक र व्यावहारिक ज्ञान निरन्तर आर्जन गरिरहन्छौँ । प्रकृति, संस्कृति र सभ्यताका दृष्टिले सृष्टिको उषाकालदेखि सुसम्पन्न मेरो देश आज शिक्षाका दृष्टिले समेत प्रगतिपथतर्फ लम्कदो छ । शिक्षाले नै मानवलाई सम्मान, खुसी र सुखपूर्वक जिउने ज्ञान र सिप प्रदान गर्छ । यसले समाज र राष्ट्रमा प्रचलित मान्यता र विश्वासलाई मानवताका आँखाले हेर्ने र तिनका बारे समालोचनात्मक चिन्तन गर्ने सोच प्रदान गर्छ । विज्ञान र सूचना प्रविधिलगायत युग सुहाउँदा जे जति नवीन प्रयोग र मान्यता स्थापित भएका छन् तिनलाई आत्मसात् गर्दै समयानकूल परिष्कृत गर्दै लैजाने काम शिक्षाले गर्छ ।
दिइएका प्रश्नको उत्तर दिनुहोस् : ४+४=८
(क) दिइएको कविताशंका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
यो, मेरो देशको सुदूर पूर्वको गाउँ ।
यो, मेरो देशको सुदूर पश्चिमको गाउँ ।
छिमेकी अगेनाबाट आगो ओसारेर सुरु हुने यहाँको दिन
गोठमा, वस्तुभाउलाई घाँसपात हालेर केटाकेटी हुन्छ
खेतमा, गोरु नारेर तन्नेरी हुन्छ
र वेग्लाबग्लै मान्छेका ओठहरू भाएर
दिनभरि फलाकिरहन्छ
दिनभरि हताररिहन्छ ।
प्रश्नहरू
(अ) गाउँका मानिसले कस्तो पेसा व्यवसाय अपनाएका छन् ?
(आ) 'छिमेकी अगेनाबाट आगो ओसारेर' भन्नुको तात्पर्य के हो ?
(ख) दिइएको जीवनीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
देवकोटाले जे लेखे र जुन जुन जिम्मेवारी पाए, प्रायः ती सवैमा उनले राष्ट्रको हितमा काम गरेर आफ्नो अव्वलता प्रदर्शन गरे । देवकोटा आफूले हात हालेका हरेक क्षेत्रमा एक असल व्यक्तित्वका रूपमा चिनिए । शिक्षामन्त्री हुँदा नेपाली भाषालाई पठनपाठनको अनिवार्य विषयका रूपमा लागु गरे । उनले त्रिभुवन विश्वविद्यालयको स्थापनामा महत्त्वपूर्ण भूमिका खेले । साहित्य र संस्कृतिको विकासको ढोका खोल्ने कार्यमा उनको योगदान चिरस्मरणीय रहेको छ ।
प्रश्नहरू
(अ) देवकोटा कसरी एक असल व्यक्तित्वका रूपमा चिनिए ?
(आ) देवकोटा शिक्षामन्त्री हुँदा के के काम गरे ?
'शत्रु' कथाका प्रमुख पात्र कृष्ण रायमाथि लट्ठी प्रहार भएपछि उनले किन शत्रु किटान गर्न सकेनन् ? तर्क दिएर पुष्टि गर्नुहोस् । ४
कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् : ४
(क) कर्ममा छ भने शक्ति जङ्गलाई वन्छ नन्दन
घोटिएर सयौँपल्ट दाउरो वन्छ चन्दन ।
(ख) नेपाल आयुर्वेदिक औषधीका लागि भूस्वर्ग मानिन्छ ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ७
(क) दिइएको एकाङ्कीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
को बस्छ यो ठाउँमा ? अघाइयो । मलाई त यहाँ जे पनि गन्हाउने पो हुन लाग्यो । खान थाल्यो भुटुन गन्हाउने, पिउन थाल्यो पानी गन्हाउने, रेल गन्हाउने, यो त ठाउँ नै गन्हाउने पो रहेछ । आफ्नो गाउँमा त भकारोकै छेउमै गुन्द्री हालेर सुत्दा पनि गन्हाउँदैनथ्यो । मलकै भारी पनि गन्हाउँदैनथ्यो । फेरि तातो पानी, तातो हावा, यस्तो दुःख खाएर को बस्न सक्छ यहाँ ?
प्रश्न
(अ) बतासे परदेशमा किन अघाइन् ? 'घरको माया' एकाङ्कीका आधारमा विवेचना गर्नुहोस् ।
(ख) दिइएको जीवनीको अंश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :
सादा जीवन उच्च विचार र मानव सेवामा समर्पित भएका कारण रुइत आफ्ना सपना पूरा गर्न सफल भएका हुन् । सफल र लोकप्रिय बन्न विदेशै जानुपर्छ भन्ने सोचलाई रुइतले गलत साबित गरिदिएका छन् । नेपालमै बसेर संसारभरिका मानिसको सेवा गर्न र जीवनलाई सार्थक बनाउन सकिन्छ भन्ने कुराका लागि रुइतको जीवनी अनुपम दृष्टान्त हो । धैर्य, साहस, दृढ इच्छाशक्ति र सङ्घर्षबाट मानिस आफ्नो लक्ष्यमा पुग्न सक्छ भन्ने कुराको प्रेरणा उनको जीवनीबाट पाउन सकिन्छ ।
प्रश्न
(अ) सन्दुक रुइतले कसरी आफ्नो जीवनलाई सार्थक बनाए ? समीक्षा गर्नुहोस् ।
कुनै एक शीर्षकमा १५० शब्द नघटाई निबन्ध लेख्नुहोस् : ७
(क) कृषिमा आधुनिकीकरण
(ख) परिवारप्रति मेरो दायित्व
(ग) जलवायु परिवर्तनको असर