Nepali Question Paper 2080 — Karnali Province | SEEpapers.com

Views: ...

Symbol No ................
RE-1021'Ka.P'
karnali
SEE 2080 (2024)
अनिवार्य नेपाली
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् :

1.

तल समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : २

समूह 'क' प्रज्ञा प्रशोधन नाका क्यानभास
समूह 'ख' चित्रपट, चित्र बनाइने कपडा, भित्ता वा ठाउँ काँचो फल शुद्ध पार्ने काम विशेष ज्ञान प्रवेश स्थान प्रशस्त धन

2.

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : २
त्यस बेला पृथ्वीमा सर्वत्र अन्धकार मात्र थियो । विचरा मान्छे त्यस समयमा जन्मन अन्धकारमै, सङ्घर्ष गरी बाँच्न अनि अन्धकारमै मर्न अभिशप्त थिए । मानिसको त्यो दयनीय अवस्थादेखि प्रमिथसलाई दुःखको अनुभूति भयो । एक दिन उनले स्वर्गबाट आगाको फिल्को चोरी पृथ्वीमा ल्याए अनि मान्छेलाई दिए ।
(क) 'धरणी' को पर्यायवाची शब्द ........... हो ।
(ख) 'नर्क' को विपरीतार्थी शब्द .................. हो ।
(ग) अनेकार्थी शब्द .................. हो ।
(घ) 'आगो' को लघुतावाची शब्द ............ हो ।

3.

दिइएको अनुच्छेदबाट एउटा टुक्का र एउटा पारिभाषिक शब्द पहिचान गरी तिनलाई अर्थ खुल्ने गरी अनुच्छेदमा दिइएको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : २
अत्यधिक गर्मी बढ्नाले खलखली पसिना आएर दैनिकी साहँ अप्ठ्यारो बनेको छ । गर्मीमा बिरामीको चाप बढ्नाले अस्पतालमा ठाउँ नहुँदा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई अगाडि पालो दिनाले सामान्य बिरामीले हैरानी खेप्नु परेको छ ।

4.

(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : १
(अ) (i) निरव्कुश (ii) निरंकुश (iii) निरन्कुश (iv) निरङ्कुश
(आ) (i) संशोधन (ii) संसोधन (iii) शंशोधन (iv) शंसोधन

(ख) दिइएका वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : २
आज माइजु बिहानै भाइ सँग गाउँ फर्कीनुभयो । रमेश उमेश र दिनेश भोलि जालान् ।

5.

दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको शब्दवर्ग पहिचान गरी लेख्नुहोस् : ३
परिश्रमीले परिश्रम गर्छन् र सफलता पाउँछन् । परिश्रमी मानिसकै कारणले समाज बदलिन सक्छ तर उनीहरूले सोचेअनुसार समाज परिवर्तन हुन सकेको छैन ।

6.

दिइएको प्रश्नको उत्तर दिनुहोस् : २+२=४
(क) दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
हामीले आफ्नो मौलिक र जातीय पहिचान बोकेको नेपाली संस्कृतिको अवमूल्यन नगरी तिनको संरक्षणमा विशेष ध्यान दिनुपर्छ ।
(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
चारकोसे फाडीमा लामो पुच्छर भएको मात्र होइन, चार पाउ भएका पनि प्रशस्त छन् । हिजोआज हृष्टपुष्ट, कामचोर पनि भेटिन्छन् । तसर्थ छिटोछिटो भातसात कपाकप खाएर अरूसँग फैँकफगडा नगरी सरसामान बोकेर आफ्नै काममा लाग्नुपर्दछ ।

7.

दिइएको अनुच्छेदलाई सामान्य भविष्यत् कालमा परिवर्तन गर्नुहोस् : २
सीमा राजनीति गर्छिन् । उनी देश र जनताका लागि काम गर्ने अठोट लिन्छिन् । उनी चाँडै नै जनताको मत जित्न सफल हुन्छिन् । नभन्दै उनी देशका लागि काम गर्ने सुनौलो अवसर पनि पाउँछिन् ।

8.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : २
(क) सम्भावनार्थ भावका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा आगामी समयमा आफ्नो सफलताको अनुमान बारे वर्णन गर्नुहोस् ।
(ख) दिइएका वाक्यलाई मध्यम आदरमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
तपाईँ विद्वान् भएर पनि किन घमण्डी बन्नुहुन्छ ? उहाँले त तपाईँलाई सम्मान गरेर पो बोलाउनुभएको हो । उहाँको परिवारले तपाईँलाई असल व्यक्ति भन्नुहुन्थ्यो । तपाईँको बानी अलि फरक रहेछ ।

9.

कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : ४
(क) राधा दुई दिन माइत बसिन् । राधा घर आइन् । (वाक्य संश्लेषण)
(ख) माइजूले सेल रोटी र अनर्सा पकाउनुभयो । (कर्मवाच्य)
(ग) तिमी कविता लेख्दै छौ । (प्रेरणार्थक)
(घ) गुरुले भन्नुभयो, "सबैले परिश्रम गर्नुपर्छ ।" (अप्रत्यक्ष कथन)

10.

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
एकरात तिनी खाइपिई सुत्ने यत्न गरिरहेका थिए । तिनका मनमा धेरै प्रकारका विचार आउन थाले । तिनको जीवन कसैले असफल भन्न सक्दैन । सानोतिनो पुँजी पनि कमाइ हालेका थिए । रुपियाँ जम्मा गर्दा अरू कसैलाई पिर पनि पारेनन् । तिनको कोही वैरी थिएन । यही तिनको सन्तोषको ठुलो कारण थियो । ४५ वर्षको यत्रो लामो जीवनमा तिनले कसैलाई आफ्नो शत्रु बनाएनन् । यस कल्पनाले तिनको तन्द्राको सुख बढाइरहेको बेलामा तिनीमाथि लट्ठीको प्रहार पर्यो । संयोगवश लट्ठीको मुख्य चोट तिनीमाथि परेन । प्रहारकर्ताले तिनीमाथि प्रहार गरेको हो कि भित्तामाथि, यो छुट्याउन गाह्रो भयो ।
प्रश्नहरू :
(क) 'तिनको जीवन कसैले असफल भन्न सक्दैन ।' यस वाक्यलाई करणमा बदल्नुहोस् ।
(ख) रेखाङ्कित 'मनमा' शब्दको कारक र विभक्तिको नाम लेख्नुहोस् ।
(ग) 'एकरात तिनी खाइपिई सुत्ने यत्न गरिरहेका थिए ।' यस वाक्यको उद्देश्य र विधेय लेख्नुहोस् ।
(घ) 'यस कल्पनाले तिनको तन्द्राको सुख बढाइरहेको बेलामा तिनीमाथि लट्ठीको प्रहार पर्यो ।' यस वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस् ।

11.

दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
प्राचीन कालदेखि नै नेपाल विभिन्न धर्म मान्ने मानिसहरूको बसोबास गर्ने थलो हो । नेपालमा मुख्यतया हिन्दुधर्म र बौद्ध धर्मको बाहुल्य रहेको छ । यी बाहेक इस्लाम, इसाई, किराँत, बहाई, शिख लगायत अन्य धर्मावलम्बीहरू पनि उत्तिकै स्वतन्त्र रूपमा रहेका छन् । (हिन्दु धर्म अन्तर्गत शैव, वैष्णव, शाक्त, सौर्य आदि सम्प्रदाय पर्दछन् भने बौद्ध धर्ममा हिनयान, महायान, बज्रयान, तन्त्र तथा मन्त्रयान, सहजयान र बोन्यो तथा लामा सम्प्रदाय आदि पर्दछन् ।) यी धर्महरू समयानुसार विभिन्न सम्प्रदाय तथा उपसम्प्रदायमा परिमार्जित हुँदै गाएको पाइन्छ । नेपाली समाजमा प्रकृति, पितृ तथा अदृश्य शक्तिको पूजा गर्ने प्रचलन पनि रहेको छ । पश्चिम नेपालमा मष्टो, पूर्वी, पहाडमा चण्डी वा देवी, तराईमा संसारीमाई, हिमाली क्षेत्रमा हिन्दु र बुद्धप्रति जनमानसको आस्था र विश्वास रहेको पाइन्छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक विशेषतायुक्त देश हो । यहाँ सांस्कृतिक विविधताभित्र एकता पाइन्छ । यहाँका विविध संस्कृतिहरूबिच परापूर्वकालदेखि नै अपूर्व मेल रहिआएको छ । सांस्कृतिक बहुलवादका सिद्धान्तबाट सिञ्चित संस्कृति भएकोले यहाँ सांस्कृतिक सम्बन्धको पनि आदानप्रदान भएको पाइन्छ । नेपाललाई साभ्रा संस्कृतिको विकास भएको मुलुक भनी गौरव गर्न सकिन्छ ।
प्रश्नहरू :
(क) नेपाललाई किन बहुधार्मिक राष्ट्र भनिन्छ ?
(ख) नेपालमा हिन्दु र बौद्धका कुन कुन सम्प्रदाय छन् ?
(ग) धर्महरूमा कसरी परिमार्जनको प्रभाव बढ्दो छ ?
(घ) सांस्कृतिक बहुलवादको तात्पर्य के हो ?

12.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) दिइएका बुँदाका आधारमा कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
कुनै गाउँमा गोरे र जुठे नाम गरेका दुई युवक बस्नु ............ तिनीहरूले गाउँमा केही काम नपाउनु .......... तिनीहरू दुवै कामको खोजीमा विदेशतिर लाग्नु ........... दुवै मिलेर काम गर्नु ........... विदेशमा धेरै पैसा कमाउनु .......... एकदिन दुवै घरतर्फ फर्कन सहमत हुनु ........ फर्कने क्रममा जुठेको मनमा पाप उब्जनु .......... गोरेलाई आफ्नो कुरा मान्न राजी गराई ल्याएको पैसा जङ्गलमै गाड्नु .......... घर जानु .......... सुटुक्क जुठेले एक्लै पैसा लैजानु .............. गोरे र जुठे दुवै जङ्गलमा पैसा लिन जानु ............. पैसा नदेख्दा गोरेलाई आरोप लगाउनु ............... गोरे तीन छक्क पर्नु ........... दुवैबिच भनाभन हुनु ........... जुठेले चलाखीपूर्वक जलदेवताका रूपमा रुखको टोड्कोमा बाबुलाई लुकाएर राख्नु ............ गोरेले आगो लगाउनु .......... बाबु निस्कनु ........ फुटो कुरा गर्न सहयोग गरेकोमा बाबु पछुताउनु ........... वास्तविक चोरको बारेमा पोल खोल्नु ........... सम्पूर्ण सम्पत्ति गोरेले नै पाउनु ........... लोभले लाभ लाभले विलाप भन्ने सन्देश प्राप्त ।
(ख) 'महिला सशक्तीकरण' शीर्षकमा एउटा संवाद तयार पार्नुहोस् ।

13.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) आफ्नो नयाँ घरमा विद्युत् लाइन जडान गरिदिन अनुरोध गर्दै विद्युत् प्राधीकरणको स्थानीय शाखालाई निवेदन लेख्नुहोस् ।
(ख) धौलागिरी अचार उत्पादन केन्द्रद्वारा उत्पादित अचारको बिक्री प्रवर्धन गर्ने उद्देश्यले प्रसारण गर्नुपर्ने विज्ञापनको नमूना तयार पार्नुहोस् ।

14.

दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिप्नुहोस् : २
देवकोटाको साहित्यिक यात्रा विचार र सिर्जनात्मक प्रवृत्तिका दृष्टिले पनि आरोह अवरोहपूर्ण रह्यो । सुरुमा संसारलाई घनघोर दुःखसागर ठान्ने देवकोटाले मानव सेवालाई धर्म र कर्मलाई ईश्वरको पूजा ठान्दै 'भिखारी' कविताभा मानवतावाद र कर्मवादको शङ्खनाद गरे । त्यस्तै 'जरुर साथी म पागल' भन्ने 'पागल' कविताका देवकोटा 'प्रभुजी मलाई भेडो बनाऊ' भन्ने कविताभा विद्रोही कविका रूपमा देखिन्छन् । खहेर भैँ गडगडाएर स्वच्छन्द बगेका 'शाकुन्तल' का देवकोटा प्रेम, मानवता र उदारता प्रकट गर्ने 'मुनामदन' को देवकोटाको भव्य र उदात्त रूप नेपाली साहित्यमा परिचित छ । कुनै बेला उनले 'उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक' कविता लेख्दा धेरैले उनलाई तरङ्गी र लहडी भने तर त्यो लहड नभई दूरदर्शिता थियो । जुन कुरा उनी दिवङ्गत हुनुभन्दा केही समयअगि रुसको रकेट चन्द्रलोक पुगेपछि प्रमाणित भयो । देवकोटाले जीवन भोगाइका क्रममा जे देखे, जे भोगे र जे अनुभूत गरे त्यसलाई आफ्ना कृतिमा उतारेको देखिन्छ । जीवन भोगाइका क्रममा देखेभोगेका यावत् विषयवस्तुलाई विभिन्न सिर्जनामार्फत प्रस्तुत गर्नु नै उनको सिर्जना यात्रामा देखापरेको विविधता हो ।

15.

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : ३
यति हुँदाहुँदै पनि आयुर्वेदिक उपचार पद्धतिमा व्यवस्थापन, सङ्गठन र निदानमा समेत केही सीमा रहेका छन् । दुर्घटनामा परी अङ्गभङ्ग भएको साथै एपेन्डिसाइटिस, हृदयाघात, पक्षाघात आदि रोगबाट पीडित बिरामी, शल्यक्रियाबाट गरिने उपचार आदिमा राखेर गरिने उपचारमा एलोप्याथीको सहयोग लिनुपर्ने अवस्था छ । साथै आयुर्वेद उपचारका नाममा जसले पनि औषधी बेच्नु, भिडभाड हुने ठाउँमा हकरले पनि औषधी बेच्नु र त्यसलाई रोक्ने कुनै संयन्त्र नहुनु र यसरी जो पायो त्यसैले घरघरै स्वघोषित आयुर्वेदिक वैद्य बनेर उपचार गर्नु जस्ता यसका सीमा हुन् । आयुर्वेदिक औषधीको पार्श्वप्रभाव न्यून हुन्छ । धेरै खायो भने चिनी पनि तितो हुन्छ भने भैँ नजानी नजानी त्यस्ता औषधी खाँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।

16.

दिइएको प्रश्नहरूको उत्तर दिनुहोस् : ४+४=८
(क) दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
एकछिन वाल्ल परेर बहादुर शाहले भने, "खुब विचार गरिरहेको छु । खास जननीकै रूपमा नारी जातिलाई पाएको हुँ । नारी सिर्जना र शक्तिको अवतार हो भन्ने खुद मलाई थाहा छ । के गरूँ उज्यालाका निम्ति बालेको बत्तीले आगलागी हुने सम्भावना देखिएपछि देश बचाउनका लागि उपचार गर्नैपर्ने रहेछ । व्यक्तिगत विरोधलाई अँगालेर यसो गरेको होइन । मुमाको मूर्ति सम्फेर हजुरमाथि मेरो पूरा श्रद्धा छ । हाम्रो आपसी घात प्रतिघातले मातृभूमिको अँध्यारो भविष्य देखापर्दा बाध्य भएर नै यो काम मैले गरेको हुँ । वास्तवमा नायबी सेनाको निम्ति मरिमेट्ने गिद्ध म होइन । यदि छाड्दे भन्ने हुकुम हुन्छ भने अहिले नै तयार छु ।"
प्रश्नहरू :
(अ) माथिको कथांश कुन सन्दर्भमा आएको हो ?
(आ) बहादुर शाह कस्ता चरित्रका व्यक्ति हुन् ?

(ख) दिइएको एकाङ्कीको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
को बस्छ यस्तो ठाउँमा ? अघाइयो मलाई त यहाँ जे पनि गन्हाउने पो हुन लाग्यो । खान थाल्यो भुटुन गन्हाउने, पिउन थाल्यो पानी गन्हाउने, रेल गन्हाउने, यो त ठाउँ नै गन्हाउने पो रहेछ । आफ्नो गाउँमा त भकारो कै छेउमा गुन्द्री हालेर सुत्दा पनि गन्हाउँदैनथ्यो, मलकै भारी बोक्दा पनि गनाउन्नथ्यो । फेरि तातो पानी, तातो हावा, यस्तो दुःख खाएर को बस्न सक्छ यहाँ । भोकै परे पनि बरु आफ्नै देशमा कुवाको चिसो पानी पिएर बरको चौतारीमा शीतल हावा खाएर सुतौँला नि ।
प्रश्नहरू :
(अ) वक्तालाई विदेश मन नपर्नुको कारण के हो ?
(आ) नेपालको वातावरण कस्तो किसिमको छ ?

17.

यदि तपाईँ 'कर्तव्य' 'कथाको पात्र मुरलीधरको ठाउँमा हुनुभएको भए के गर्नुहुन्थ्यो ? आफ्नो तर्क दिनुहोस् : ४

18.

कुनै एक उदाहरणको व्याख्या गर्नुहोस् : ४
(क) कर्ममा छ भने शक्ति जङ्गलै बन्छ नन्दन
    घोटिएर सयौँ पल्ट दाउरो बन्छ चन्दन ।
(ख) हामी दुवै चाहन्छौँ एउटा त्यस्तो दुनियाँ सिर्जना गरौँ जहाँ जसले कसैलाई कुराले मात्र टार्न नसकोस् ।

19.

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : ७
(क) दिइएको कविताँश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :
पूर्वले दियो विश्वकै लागि रहस्य विशाल
अपूर्व शिरोमुकुट हाम्रो सर्वोच्च हिमाल
ऋषिले सुने रहस्य यहीँ ब्युँभेर सखार
हे धन्य पुर्खा प्रकाशपुञ्ज वन्दना हजार ।
प्रश्न :
(अ) नेपालमुलुक विश्वमै अलग र महान् छ भन्ने कुरालाई माथिको कविताँशका आधारमा पुष्टि गर्नुहोस् ।

(ख) तलको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
"याङजी, त्यो दुर्घटनामा कमल नबितेको भए तिमी मेरी बुहारी नै रहन्थ्यौ अहिले तिमी मेरी छोरी हौ । म महसुस गर्न सक्छु एकलो बाँच्न कति सकस हुन्छ भनेर । मैले कमलको बुबाविना बिताएको यो १९ वर्षले बोध गराएको छ । त्यो बुभछु तिम्रो मनस्थिति तिमी ऊसँग भावी जीवन बिताउन तयार भयौ भने मैले रोक्ने कुरै छैन । तर एउटा सर्त छ" आमाले अगिपछि भन्दा मसिनोसँग भन्नुभयो ।
प्रश्न :
(अ) आमा र याङजीको सुमधुर सम्बन्धले नेपाली समाजको कस्तो परिकल्प गरेको छ ? आयाम कथाको आधारमा समीक्षा गर्नुहोस् ।

20.

कुनै एक शीर्षकमा कम्तीमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : ७
(क) विद्यार्थी जीवन र अनुशासन
(ख) प्राविधिक शिक्षाको महत्त्व
(ग) मेरो सुन्दर देश नेपाल